रञ्जन यादब/बारा/
आवासको लागि सहयोग समूहले बारा जिल्लाको कलैया उपमहानगरपालिकामा सञ्चालन भइरहेको कम्युनिटी रेजिलिएन्स पार्टनरसिप प्रोग्राम (CRPP) का लागि दस्तावेजीकरण अधिकृत पदमा कर्मचारी माग गरेको छ।
हुवाइरू कमिसन महिला नेतृत्वमा आधारित विश्वव्यापी सञ्जालको आर्थिक सहयोगमा फेब्रुअरी २०२४ देखि सञ्चालनमा आएको यस कार्यक्रममार्फत महिलाहरूको समूह तथा सञ्जालको नेतृत्व क्षमता विकास, उनीहरूको दैनिकी र जीविकोपार्जनमा असर पार्ने जलवायु जोखिमसम्बन्धी सूचनामा पहुँच तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ।
कार्यक्रमका प्रमुख उद्देश्यहरूमा स्थानीय तहमा रहेका जलवायु अनुकूलन संयन्त्रहरूको पहिचान, स्थानीय अभ्यास तथा समाधानहरूको विस्तार (स्केलिङ अप) को सम्भावना खोजी, जलवायु परिवर्तन अनुकूलनसम्बन्धी स्थानीय सरोकारवालाहरूको क्षमता विकास तथा स्थानीय सरकारसँग सहकार्य गरी सरकारी नियमित योजना तथा कार्यक्रमसँग समन्वय गर्नु रहेको छ।दस्तावेजीकरण अधिकृतले कार्यक्रम प्रबन्धक (विपद् जोखिम न्यूनीकरण) लाई प्रतिवेदन गर्ने गरी काम गर्नुपर्नेछ। कार्यस्थल कलैया उपमहानगरपालिका, बारा जिल्ला तोकिएको छ।
यस पदका लागि छनोट हुने कर्मचारीले परियोजनासम्बन्धी कागजातहरूको समीक्षा गरी दस्तावेजीकरणका टेम्प्लेट, ढाँचा तथा प्रश्नावली विकास गर्नुका साथै साप्ताहिक, मासिक, वार्षिक तथा कार्यक्रमगत प्रतिवेदन तयार गर्नुपर्नेछ। साथै, फिल्डबाट संकलित तथ्याङ्कका आधारमा कथात्मक प्रतिवेदन लेख्ने, दातृ संस्थाको ढाँचाअनुसार समयमै प्रतिवेदन पेश गर्ने, महिला नेतृ, समुदाय समूह, स्थानीय सरकार तथा सरोकारवालासँग नियमित समन्वय र अन्तरक्रिया गर्ने जिम्मेवारी रहनेछ।
महिनामा कम्तीमा दुई पटक समुदाय भ्रमण गरी सूचना संकलन गर्नु, महिला नेतृ तथा वडा, नगर तहका सरोकारवालासँग मासिक अन्तरक्रिया सञ्चालन गरी त्यसको प्रक्रिया दस्तावेजीकरण गर्नु पनि जिम्मेवारीमा समावेश गरिएको छ।
शैक्षिक योग्यताअन्तर्गत मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। जनसञ्चार वा मानविकी विषयका उम्मेदवारलाई प्राथमिकता दिइने लुमन्तिले जनाएको छ। अङ्ग्रेजी भाषामा लेखन तथा बोलचालमा राम्रो दखल, फिल्ड भ्रमण गर्न इच्छुक हुनु, सूचना व्यवस्थापन प्रणालीसम्बन्धी आधारभूत प्राविधिक ज्ञान तथा माइक्रोसफ्ट वर्ड र एक्सेल प्रयोग गर्न सक्ने क्षमता आवश्यक छ।
सेवा सुविधा संस्थाको नियमानुसार उपलब्ध गराइनेछ। इच्छुक तथा योग्य उम्मेदवारहरूले आवेदन पत्र, अद्यावधिक बायोडाटा (CV) र आवश्यक प्रमाणपत्रहरू सहित २०८२ पुष १८ गतेसम्म इमेल lumanti.vacancy@gmail.com मार्फत दरखास्त दिन सक्नेछन्।

