रञ्जन यादब /पर्सा
पर्साका विभिन्न क्षेत्रमा वन तस्करी नियन्त्रण गर्न गरिएको अभियानअन्तर्गत ठूलो परिमाणमा काठ र दाउरा बरामद गरिएको छ ।विशेष सूचनाको आधारमा सबैया साझेदारी बन क्षेत्रको खजुरीयामा छापा मार्दा करिब ४० क्युफिट बराबरको साल जातका ४ वटा गोलिया बरामद गरिएको डिभिजन बन कार्यालय पर्साले जनाएको छ।
सबैया सब–डिभिजनका रेञ्जर भुपाल रोकायको नेतृत्वमा सशस्त्र र नेपाल प्रहरीसहितको संयुक्त टोलीले चौपेता राखिएको भन्ने सूचनाअनुसार जंगल छापामारी गर्दा उक्त काठ फेला पारेको हो। सो क्रममा बन कार्यालयको ट्रयाक्टर जंगलमा ल्याउने क्रममा ४ जना व्यक्तिहरू ४ वटा साईकलमा काठको गोलिया लिएर जाँदै गरेको देखिएको थियो। तर, लखेट्दा उनीहरू साईकल र काठ छोडेर जंगलतर्फ भागेको बन कार्यालयले जनाएको छ। राती भएको कारण सुरक्षालाई मध्यनजर गर्दै बरामद काठ र साईकल तत्कालै कार्यालयमा ल्याइएको रोकायले जानकारी दिए। उनको भनाइअनुसार जंगलमा बाँकी रहेका करिब १५ क्युफिट बराबरको थप तीन थान चौपेता भोलि ल्याइनेछ।यसैबीच, बड्निहार सब–डिभिजनमा समेत सशस्त्र बन रक्षक कमाण्डर जीत बहादुर तामाङको नेतृत्वमा गएको टोलीले १७ वटा साईकलमा लोड गरिएको दाउरा बरामद गरेको छ।
बरामद दाउरा करिब एक ट्रयाक्टरभन्दा बढी परिमाणमा रहेको जनाइएको छ।वन कार्यालयले दुबै स्थानमा बरामद भएको काठ र दाउँरालाई वन तस्करी नियन्त्रणको प्रयासको रुपमा लिएको जनाएको छ । बन कार्यालयले काठ र दाउरा चोरी नियन्त्रण गर्न दिन र रातमा गस्ती गरिरहेको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए ।