दादी प्रकाशमणिजी को १८औं पुण्य स्मृति दिवसको अवसरमा ११४ जनाले गरे रक्तदान

रञ्जन यादब /बारा

दादी प्रकाशमणिजी को १८औं पुण्य स्मृति दिवस तथा विश्व बन्धुत्व दिवसको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र सिमराले शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो। पहिलो चरणको औपचारिक कार्यक्रममा सेवा केन्द्रकी सञ्चालिका ब्रह्माकुमारी मधु दिदी सभापति रहनुभएको थियो।

प्रमुख अतिथिमा जीतपुरसिमरा उपमहानगरपालिकाका उपमेयर भोला प्रसाद अधिकारी, राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख हरिप्रसाद शर्मा, उपमहानगरपालिकाका कार्यालय प्रमुख शान्तिराज प्रसाई, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। प्रमुख अतिथि अधिकारीले रगतको अभावमा हुने अकाल मृत्यु कम गर्न यस्ता कार्यक्रमले ठूलो योगदान पु¥याउने बताएका थिए।

साथै, ब्रह्माकुमारीद्वारा गरिएको अभियानले समाजमा सकारात्मक सन्देश पुग्ने विश्वास व्यक्त गर्नुभयो। सभापति मधु दिदीले सबैको साथ र सहयोगले कार्यक्रम सफल भएको उल्लेख गर्दै विश्व बन्धुत्व दिवसकै अवसरमा आयोजना गरिएको यस अभियानले मानव जीवनको रक्षा गर्ने महत्त्वपूर्ण सन्देश दिएको बताउनुभयो।दोस्रो चरणमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो। जसअन्तर्गत ११४ जना दाताहरूले रगत दिएका थिए। सहभागीमध्ये नौ जना महिला र १०५ जना पुरुष रहेका थिए।सिमरा रेडक्रसका अध्यक्ष शिव शर्माले रक्तदान सफलतापूर्वक सम्पन्न भएकोमा सेवा केन्द्रलाई प्रमाणपत्र हस्तान्तरण गर्दै धन्यवाद ज्ञापन गरेका थिए