भट्टी विस्फोटपछि दबाब बढ्दो ः सात दलको संयुक्त ज्ञापन, उद्योगको जोखिमपूर्ण सञ्चालन रोक्न माग

रञ्जन यादब /बारा

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित जगदम्बा स्टिल्समा हालै भएको भट्टी विस्फोटपछि उद्योगको गतिविधिमाथि स्थानीय तहमा दबाब बढेको छ। मानव स्वास्थ्य र वातावरणमा गम्भीर असर पार्नेगरी जोखिमपूर्ण भट्टी सञ्चालन गरेको भन्दै सातवटा प्रमुख राजनीतिक दलका स्थानीय नेताहरूले उपमहानगरपालिका कार्यालयमा संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका छन्।

नेताहरूले आइतबार उपमहानगर प्रमुख राजन पौडेललाई भेटेर उक्त ज्ञापनपत्र हस्तान्तरण गरेका हुन्। ज्ञापनमा उद्योगको कच्चा पदार्थ पगाल्ने भट्टी तत्काल बन्द गरिनुपर्ने माग गरिएको छ। नगरवासीको स्वास्थ्यमा प्रत्यक्ष असर पर्नेगरी सञ्चालन भइरहेको भट्टी नियन्त्रण गर्न स्थानीय सरकार जिम्मेवार र प्रभावकारी भूमिका खेल्नुपर्ने राजनीतिक दलहरूको जोड छ। ज्ञापनपत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र जनमत पार्टीका स्थानीय नेताहरूको हस्ताक्षर रहेको छ।

ज्ञापन बुझाउने नेताहरूमा कांग्रेसका छविलाल शर्मा, एमालेका त्रिलोकविक्रम शाह, माओवादीका प्रेम बराल, रास्वपाका सुरेशराज केसी, समाजवादीका सञ्जय पटेल, लोसपाका सरोज पटेल र जनमत पार्टीका मनोहर साह रहेका छन्।स्थानीयवासीले लामो समयदेखि उद्योगको प्रदूषण तथा लापरवाहीपूर्ण सञ्चालनबारे आवाज उठाउँदै आएका थिए। विस्फोट घटनाले स्थिति थप गम्भीर बनेपछि राजनीतिक दलहरू समेत सक्रिय बनेका हुन्।