रञ्जन यादब /बारा
बाराका वरिष्ठ नेता तथा संविधानसभा सदस्य रामअयोध्या प्रसाद यादवको ७२ वर्षको उमेरमा निधन भएको छ ।सुवर्ण गाउँपालिका–२, कवहीजगात निवासी यादवको निधन बुधबार बिहान वीरगन्जको हेल्थकेयर अस्पतालमा उपचारका क्रममा भएको हो।
लामो समयदेखि मधुमेहबाट पीडित रहेका यादवको स्वास्थ्य स्थिति जटिल बनेपछि अस्पताल भर्ना गरिएको थियो।नेपाली कांग्रेस बारा जिल्ला सचिवको जिम्मेवारी समेत समाहलिसकेका यादव २०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा बारा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए। पार्टीको महासमिति सदस्यसमेत रहेका उनी कांग्रेसको नीति र संगठन निर्माणमा सक्रिय नेताको रूपमा चिनिन्थे।
उनको निधनले बारामा मात्र नभई समग्र मधेश राजनीतिमा अपूरणीय क्षति पुगेको राजनीतिक विश्लेषकहरूले जनाएका छन्।स्व. यादवका दुई छोरा, दुई छोरी र श्रीमती छन्। पारिवारिक स्रोतका अनुसार उहाँको अन्त्येष्टि आफ्नै गाउँ कवहीजगातमा गरिएको छ ।