रञ्जन यादब /बारा
जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभा फेरि दोस्रो पटक पनि स्थगित भएको छ । बुधबार (असार १८) तय गरिएको नगरसभा बैठक स्थगित भएको हो । जीतपुरसिमरा उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत शान्तिराज प्रसाँईले एक सूचना जारी गर्दै २०७५ सालको नगरसभा सञ्चालन नियमावली अन्तर्गत नियम ३ को उपनियम (६) बमोजिम यसअघि आह्वान गरिएको नगरसभाको दोस्रो बैठक स्थगित गरिएको जानकारी दिएका हुन् ।
असार १८ गते बुधबार दिउँसो १ बजे सिमरा स्थित क्लासिक प्लाजा होटलमा सञ्चालन हुने तय गरिएको थियो । तर नगर प्रमुखस्तरीय निर्णयअनुसार बैठक स्थगित गरिएको प्रमुख प्रशासकिय अधिकृत प्रसाँईले जारी गर्नुभएको सुचनामा भनिएको छ ।अर्को सुचना नभएसम्मकोलागि बैठक स्थगित गरिएको जानकारी दिएको छ । मेयर र वडा अध्यक्षहरूबीच बजेटको सिलिङ तोक्ने विषयमा सहमति जुट्न सकेको छैन। यसअघि असार ९ गतेको नगरसभा बैठक पनि बजेट बांडफाँडमा विवादका कारण स्थगित गरिएको थियो। मंगलबार भएको छलफलमा पुनः विवाद चर्किएपछि नगरसभा प्रभावित हुने निश्चित भएपछि स्थगीत भएको हो ।
मेयर राजन पौडेलले कुल ३० करोड रुपैयाँको बजेटलाई आधार बनाएर त्यसको ३५% नगरस्तरीय योजनाका लागि, ५०% वडा अध्यक्षहरूको भागमा र बाँकी १५% उपमेयर र अन्य कार्यपालिका सदस्यहरूका लागि विनियोजन गर्न प्रस्ताव गरेका थिए। सो अनुसार वडाहरूले १५ करोड, मेयरको योजनामा १० करोड ५० लाख र उपमेयर तथा कार्यपालिका सदस्यहरूले ४ करोड ५० लाख बजेट पाउने प्रस्ताव गरिएको थियो। तर वडा अध्यक्षहरूले उक्त बाँडफाँड स्वीकार गर्न अस्वीकार गर्दै २७ करोड रुपैयाँ वडास्तरमै खर्च गर्नुपर्ने माग गरेका छन्। यही असहमतिको कारण नगरसभा फेरि पनि अवरुद्ध हुने सम्भावनालाई देखेर स्थगीत भएको हो ।
उपमेयरसहित वडाध्यक्षहरूमा एमालेको बहुमत रहेको छ । यसपालि नगरमा थोरै बजेट राखेर कार्यपालिकामा अल्पमत रहेका नेकपा माओवादि केन्द्रबाट निर्वाचित मेयरलाई कामै गर्न नदिने सोचले यस्तो गर्न लागिएको एक कार्यपालिका सदस्यले बताए । यी राजनीतिक असहमतिले नगरसभा प्रक्रियामा थप अड्चन सिर्जना गरिरहेको देखिन्छ ।