रञ्जन यादब /बारा
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२।८३ का लागि प्रस्तावित नीति तथा कार्यक्रम र बजेटमाथि गहिरो असहमति जनाइएपछि नगर सभाको १२औं पहिलो बैठक स्थगित भएको छ । नगर प्रमुख राजन पौडेलका अनुसार असार १० भित्र नीति तथा कार्यक्रम तथा बजेट पारित गर्ने लक्ष्य असफल बनेको छ। अब नगर सभाको अर्को बैठक असार १८ गते बस्ने तय गरिएको छ।
स्रोत अनुमान र बजेट विवाद
पटक–पटक भएका छलफलपछि उपमहानगरपालिकाको स्रोत अनुमान समितिले बाँडफाँड योग्य नयाँ कार्यक्रम बनाउन सकिने जम्मा बजेट ३) करोड रुपैयाँ मात्रै रहेको जनाएको छ। यद्यपि राजस्व परामर्श समितिले २ अर्ब १ लाख रुपैयाँको बजेट निर्माणको सिफारिस गरिसकेको छ। वडा नं। २१ का वडाध्यक्ष तथा समितिका सदस्य सुवास श्रेष्ठका अनुसार स्रोत अनुमानमा सहमति नजुटेकै कारण बजेट निर्माण प्रक्रिया ढिलो भएको हो।
नगर प्रमुख र कार्यपालिका सदस्यबीच असहमति
नगर प्रमुख पौडेलले ३० करोडको सीमा नघटाई नयाँ कार्यक्रम बनाउन आग्रह गरे पनि वडाध्यक्षहरूले ४० करोडसम्मको सीमा निर्धारण गर्नुपर्ने माग गरेका छन्। बाँडफाँडका विषयमा स्पष्ट सहमति नजुट्दा सोमबारको कार्यपालिका बैठक निष्कर्षविहीन बनेको हो।
विभिन्न प्रस्तावहरूमा विवाद देखिएको छ—नगर प्रमुखले ५० प्रतिशत बजेट आफ्नो तर्फबाट प्रयोग गर्ने प्रस्ताव राखेका थिए भने उपप्रमुख भोलाप्रसाद अधिकारीले सबैलाई समावेश गरी ३०÷७० को आधारमा बाँडफाँड गर्ने प्रस्ताव गरेका थिए। अन्ततः नगर प्रमुखले ४०÷६० को प्रस्तावमा सहमति जनाए पनि सहमति जुट्न सकेन।
राजनीतिक दलहरूको भूमिका र असहमति पत्र
बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, लोसपा, एकीकृत समाजवादीका जनप्रतिनिधिहरू असन्तुष्ट देखिए। एमाले नेतृत्वका वडाध्यक्षहरूसहित १८ जना कार्यपालिका सदस्यहरूले बैठक अघि नै प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईलाई हस्ताक्षरसहितको ज्ञापन बुझाउँदै आफूहरू प्रस्तुत एजेन्डासँग असहमत रहेको जनाएका थिए।
अब के हुन्छ?
नगर प्रमुख राजन पौडेलका अनुसार संविधान अनुसारको समयसीमा असार १० भित्र नीति तथा कार्यक्रम र बजेट पास गर्न नसकिने भएपछि अब १२औं नगर सभाको दोस्रो बैठक असार १८ गते बस्नेछ। स्रोतका अनुसार “बाहिरी रुपमा देखिने विवादभन्दा मूल मुद्दा बजेटको बाँडफाँडकै हो।” अब नयाँ बैठकमा सहमति जुटाएर बजेट ल्याउने प्रयास हुने जनाइएको छ