रञ्जन यादब /बारा
घरमै अक्सिजनको सहाराले बिगत लामो समय देखि बाँची रहेकी फोक्सोको दिर्घकालिन बिरामीलाई जीतपुरसिमरा उपमहानगरपालिकाको एक मनकारी वडा अध्यक्षले सहयोग प्रदान गरेका छन् ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.४ का वडाध्यक्ष भोजबहादुर खत्री (इश्वर) ले दीर्घकालीन रोगका कारण घरमै अक्सिजनको सहारामा बाँचीरहेकी ईश्वरी कार्कीको उपचारको लागि आफनो ब्यक्तिगत ५० हजार आर्थिक सहयोग गरेका छन् ।
करिब २० वर्षदेखि अक्सिजनको सहारामा रहेकी कार्कीको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकाले उपचार गर्नसमेत कठिन भइरहेको गुनासो सुनेपछि वडा अध्यक्ष खत्रीले घरमै गएर बिरामीलाई सहयोग गरेका हुन् । उहाँले कार्कीलाई सहयोग गर्न सार्वजनिक अपिल गर्दै २।३ दिन भित्रमा फेरी साथीभाईहरुको सहयोगमा रु १ लाख भन्दा बढी सहयोग प्रदान गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
आर्थिक अवस्था कमजोर रहेको बिरामी कार्कीको श्रीमान दिपेन्द्र कार्की ठेला चलाएर श्रीमतीको औषधी उपचार गराउँने गरेका छन् । बिरामी ईश्वरी कार्कीको अक्सिजनमा मात्र दैनिक ७ सय रुपैया खर्च हुने गरेको वडा अध्यक्ष खत्रीले सुनाए ।