बिश्वप्रसिद्ध गढीमाई मन्दिरमा तोडफोड गर्ने तीन व्यक्ति पक्राउ

रञ्जन यादब /बारा

बाराको महागढ़ीमाई नगरपालिकाको वडा नं. १ मा अवस्थित विश्व प्रसिद्ध गढीमाई मन्दिरमा तोडफोड गर्ने तीन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गत माघ १ गतेको दिन ती व्यक्तिहरूले मन्दिरभित्र रहेका विभिन्न धार्मिक सामग्रीमा क्षति पु¥याएका थिए ।

गढीमाई मन्दिरमा पञ्चबर्षिय मेला चलिरहेको अवस्थामा मन्दिरका दर्शनार्थीले चढाउँन ल्याएका परेवा उनीहरु लुटेका आरोप लागेको छ । उनीहरुले तोडफोड गर्ने क्रममा घण्टी, पंखा, त्रिशूल, सि.सि. क्यामरा, दान पेटिका लगायतका सामानमा नोक्सानी पु¥याएको बारा प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

घटनाको छानबिनका लागि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले मन्दिरमा जडान गरिएको सिसिटिभी फुटेजका आधारमा दोषीहरूको पहिचान गरेको थियो। अनुसन्धानपछि प्रहरीले तीनजनालाई पक्राउ गर्न सफल भएको छ ।पक्राउ पर्नेहरूमा रौतहटको बृन्दावन नगरपालिका वडा नं. २ का २३ बषिय एजाज अंसारी, बाराको महागढ़ीमाई नगरपालिका वडा नं.१ का १९ बषिय अरमान अंसारी, र सोही वडाका ३६ वर्षीय बिद्या सागर पटेल रहेका छन् ।

प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी गरिरहेको जनाएको छ। साथै, पक्राउ परेकाहरूमाथि आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको छ। धार्मिक स्थलमा भएको यस किसिमको तोडफोडले समाजमा नकारात्मक सन्देश प्रवाह गर्ने भएकाले दोषीलाई कडाभन्दा कडा सजाय दिनुपर्ने माग स्थानीयहरूबाट उठेको छ ।