सिमरामा रामप्रसाद अधिकारीको नियात्रा कृति ‘उड्दै गुड्दै र घस्रिदै’ लोकार्पण

रञ्जन यादब /बारा

बुढ्यौली साहित्य समाज र सिमरा साहित्य समाज बाराको संयुक्त आयोजनामा नियात्रा पुस्तक ‘उड्दै गुड्दै र घस्रिदै’ विशेष समारोहबीच लोकार्पण गरिएको छ। साहित्यकार तथा लेखक रामप्रसाद अधिकारीद्वारा लिखित यस पुस्तकलाई सिमराको लोटस एकेडेमीको कन्फ्रेन्स हलमा लोकार्पण गरिएको हो । कार्यक्रममा नियात्रा समाजका संस्थापक अध्यक्ष चन्द्रप्रसाद भट्टराई, मधेस प्रदेश बारा क्षेत्र नम्बर ४ (क )का सभासद देवनारायण चौधरी, जितपुर सिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारी, र साहित्यकार रमेशमोहन अधिकारीले संयुक्त रूपमा पुस्तक लोकार्पण गर्नुभयो।

साहित्यिक योगदानको चर्चा

कार्यक्रमका प्रमुख अतिथि नियात्रा समाजका संस्थापक चन्द्रप्रसाद भट्टराईले पुस्तक उत्कृष्ट रहेको बताउँदै लेखकहरूले समय दिएर मेहनतपूर्वक कृति प्रकाशन गर्नुपर्ने सुझाव दिनुभयो ।एक चोटि प्रकाशन भईसकेका कृतिहरु लेखकका काबु भन्दा बाहिर जान सक्ने भएकाले ,लेखकले चाहेर पनि संशोधन तथा थप गर्न नसक्ने भएका कारण लेखक यसतर्फ सचेत हुनुपर्ने धारणा राखे ।

लेखकको लेखलाई नै मध्यनजर गरी पाठकले लेखकप्रतीको आफनो धारणा बनाउँने भएका कारण लेखकले आफनो कृति प्रकाशन गर्नुभन्दा अगाडि दश पट्क सोच्नुपर्ने सल्लाह दिनुभयो ।

उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीले साहित्यको विकासका लागि सहयोग गर्न नगरपालिकाले सधैं तत्पर रहने बताउनुभयो। त्यसकोलागि बजेट पनि बिनियोजन गरेका बताउँनुभयो ।प्रस्तावनासहित नगरपालिकामा आउँदा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । सभासद देवनारायण चौधरीले साहित्य समाजको दर्पण भएकाले यस्ता कृतिहरू प्रकाशन हुनु सकारात्मक भएको उल्लेख गर्नुभयो ।

साहित्यिक वातावरणको सृजना

साहित्यिक कार्यक्रममा विभिन्न कविहरूले आफ्ना कविता प्रस्तुत गर्नुभयो। कविता वाचन गर्नेहरूमा इसाहक हुसेन, जनार्दन खनाल, शिखा अधिकारी, रामप्रसाद आचार्य, चन्द्रप्रसाद सुवेदी, अप्सरा पुडासैनी, विनयराज गौतम, सीता शर्मा, रमनिशा बराल, अंशु अधिकारी, राजश्री बराल, सेविका मगर, प्रज्वल श्रेष्ठ, युमी आचार्य, र प्रितम बास्तोला लगायतका साहित्यकार सहभागी हुनुहुन्थ्यो।संगीतकार विकास पाण्डे र लोकसंस्कृति मञ्च बाराका अध्यक्ष देवेन्द्र कार्कीले सांगीतिक प्रस्तुति दिएर कार्यक्रमलाई थप रंगीन बनाउनुभएको थियो।

संवोधन र सञ्चालन

सिमरा साहित्य समाजका सचिव नारायण दत्त पौडेलले लोकार्पित कृतिबारे विस्तृत जानकारी गराउनुभयो। संस्थापक सचिव रामप्रसाद पोखरेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन कोषाध्यक्ष सीता अधिकारीले गर्नुभयो । कार्यक्रमको अध्यक्षता रामप्रसाद अधिकारीले गर्नुभएको थियो। ‘उड्दै गुड्दै र घस्रिदै’ पुस्तकले नेपाली साहित्यमा थप नयाँ योगदान दिने विश्वास लिइएको छ ।