पर्सामा रुख काट्दै गरेको मानिस सहित ७१ क्युफिट काठ बरामद

रञ्जन यादब /पर्सा

बड्निहार सब डिभिजन बन कार्यालय पर्साले एक जना मानिस सहित ६ थान काठको गोलिया बरामद गरेको छ । पक्राउँ पर्नेमा पर्सागढी नगरपालिका वडा नं.४ हरपुर बस्ने बर्ष ३५ का बुदाई राम रहेका छन् ।

नियमित बन गस्तीको क्रममा उनलाई बन हेरालु मनित ठाकुरले पक्राउ गरेको बड्निहार सब डिभिजन बन कार्यालयका अधिकृत नवनीत मिश्राले जानकारी दिए । मङ्गलबार दिउँसो ५।६ जना तस्करहरु समुहमा जङ्गलमा रुख काट्दै थिए ।बन गस्ती टोलीलाई देखेर अरु भाग्न सफल भएको र एक जना मात्र पक्राउ परेको बन अधिकृत मिश्राले बताए ।

बरामद ६ थान गोलिया करिब ६० क्युफिटको रहेको छ । त्यस्तै रङ्गपुर सब डिभिजन बन कार्यालयले १०.७४ क्युफिट काठको गोलिया बरामद गरेको छ । सखुवा प्रसौनी गाउँपालिका वडा नं.८ साखु जमुनियाबाट घर अगाडिको खेत बारीमा परालमा लुकाईछिपाई राखिएको अवस्थामा दुई थान काठको गोलिया बरामद भएको अधिकृत छैठो उज्जवल यादबले बताए ।

बरामद मानिस र काठको गोलिया सम्बन्धमा थप अनुसन्धान भईरहेको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए ।