बाराको कलैया उपमहानगरपालिका–१० सनीचरेमठस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १ हजार ४९५ पिस प्रतिबन्धित लागूऔषध बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मटिअर्वाबाट खटिएको टोलीले सोमबार सीमा क्षेत्रमा निगरानी गर्ने क्रममा विभिन्न प्रकारका लागूऔषध बरामद गरेको हो।
सशस्त्र प्रहरीले बरामद गरेका लागूऔषधमा डाइजेपाम इन्जेक्सन ५०० पिस, आईपीपीएल बुप्रेनोर्फिन इन्जेक्सन १९५ पिस, नुफिन बुप्रेनोर्फिन इन्जेक्सन ३०० पिस र एबट प्रोमेथाजिन हाइड्रोक्लोराइड इन्जेक्सन आईपी ५०० पिस रहेका छन्।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गण हेडक्वार्टर बाराका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रम मणि अधिकारीका अनुसार बरामद लागूऔषध आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको छ।
सीमावर्ती क्षेत्रमा प्रतिबन्धित लागूऔषधको ओसारपसार नियन्त्रण गर्न सशस्त्र प्रहरीले निगरानी तथा गस्तीलाई निरन्तरता दिँदै आएको छ।




