बाराको विश्रामपुर गाउँपालिकामा विषालु सर्पको डसाइबाट चार वर्षीय बालकको ज्यान गएको छ। मृत्यु हुनेमा भारतको बिहार राज्यअन्तर्गत पूर्वी चम्पारण जिल्लाको पकडिया घर भएका आदित्यप्रसाद पाल रहेका छन्। उनी पछिल्लो एक महिनादेखि विश्रामपुर गाउँपालिका–५ स्थित मामाघरमा बस्दै आएका थिए।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आइतबार साँझ घरअगाडि खेलिरहेका बेला बालकलाई कोब्रा सर्पले डसेको थियो। सर्पले डसेपछि तत्काल उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार मृतक बालकको शव उनका मामा जितेन्द्र पालले बुझेका छन्।




