मानव बेचबिखनको बदलिँदो स्वरूपबारे गमरगावामा प्रहरीको सचेतना

बारा २० भाद्र

मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसको अवसरमा इलाका प्रहरी कार्यालय सिमराले जीतपुरसिमरा उपमहानगरपालिका–८ गमरगावामा समुदायस्तरीय सचेतना कार्यक्रम आयोजना गरेको छ। शनिबार सम्पन्न एक दिने कार्यक्रममा ‘प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने मूल नारासहित मानव बेचबिखनका नयाँ तरिका, सम्भावित जोखिम तथा बच्ने उपायबारे स्थानीयलाई जानकारी गराइएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले समयसँगै मानव बेचबिखनको प्रकृति र तरिका पनि परिवर्तन हुँदै गएको बताए। उनले विशेषगरी वैदेशिक रोजगारीको प्रलोभन, सामाजिक सञ्जालको प्रयोग तथा आकर्षक आम्दानीको आश्वासन देखाएर मानिसहरूलाई ठगी र बेचबिखनको जालमा पार्ने गतिविधि बढिरहेको उल्लेख गरे।आधुनिक प्रविधिको गलत प्रयोग गर्दै सक्रिय गिरोहबाट सर्वसाधारण जोखिममा पर्न सक्ने भएकाले कुनै पनि शंकास्पद प्रस्ताव वा गतिविधिप्रति सचेत रहन उनले आग्रह गरे।

भट्टले बेचबिखनको सम्भावित जोखिम पहिचान गर्ने संकेत, त्यसबाट जोगिने उपाय तथा घटनाको रोकथाममा प्रहरी र समुदायबीचको सहकार्य आवश्यक रहेको विषयमा पनि जानकारी गराएका थिए।मानव बेचबिखन नियन्त्रण प्रहरीको प्रयासबाट मात्र सम्भव नहुने उल्लेख गर्दै उनले समुदायका नागरिकले आपसमा सूचना आदानप्रदान गर्नुपर्ने तथा शंकास्पद गतिविधिबारे समयमै सम्बन्धित निकायलाई जानकारी दिनुपर्ने बताए।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका–८ का वडाध्यक्ष शिवशंकर कुशवाहाले ग्रामीण क्षेत्रका सोझासाझा तथा जानकारीको अभावमा रहेका नागरिकहरू बेचबिखनको जोखिममा पर्न सक्ने भएकाले समुदायमै पुगेर सञ्चालन गरिने यस्ता कार्यक्रम प्रभावकारी हुने बताए। यस्ता सचेतनामूलक गतिविधिले नागरिकलाई सम्भावित जोखिमप्रति सजग र सचेत बनाउन सहयोग पुग्ने उनको भनाइ थियो।सचेतना कार्यक्रममा इलाका प्रहरी कार्यालय सिमराका प्रहरी वरिष्ठ नायब निरीक्षक रुपेश थपलिया, इलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौला, पूर्ववडाध्यक्ष रामबाबु पटेल, वडासदस्य गंगा पटेलसहित जनप्रतिनिधि तथा स्थानीयबासीको सहभागिता रहेको थियो।