टाङ्गियाबस्तीका फुयालको रहस्यमय अवस्थामा मृत्यु , तालिम प्राप्त कुकुर सहित अनुसन्धान हुँदैँ

रञ्जन यादव /बारा १४ भदौ

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ टाङ्गियाबस्तीका देबी प्रसाद फुयाल रहस्यमय अवस्थामा मृत फेला परेका छन्। जंगलमा साइकलले शरीर थिचिएको अवस्थामा उनको शव फेला परेपछि घटनाले स्थानीय क्षेत्रमा सनसनी फैलिएको छ।वडा नम्बर १६ अन्तर्गत टाङ्गियाबस्तीको १० नम्बर टोल निवासी फुयालको शव आइतबार काटघाटस्थित सहजनाथ महादेव मन्दिरको दक्षिणतर्फ जंगल क्षेत्रमा फेला परेको वडा नम्बर १६ का वडाध्यक्ष हरिदेव खरेलले जानकारी दिए।स्थानीयका अनुसार फुयाल पाँडो चराउने काम गर्दै आएका थिए।

गत शुक्रबार उनले चराउँदै आएको पाँडो हराएपछि त्यसको खोजीमा उनी शनिबार साइकल लिएर जंगलतर्फ गएका थिए। शनिबार साँझसम्म हराएको पाँडो भने घर फर्किए पनि फुयाल भने घर नफर्किएपछि परिवार र स्थानीय चिन्तित बनेका थिए।खोजतलासकै क्रममा आइतबार जंगल क्षेत्रमा उनको शव साइकलले थिचिएको अवस्थामा फेला परेको हो। घटनालाई थप रहस्यमय बनाउने अर्को पक्ष भने फुयालले लगाउने चप्पल उनको शव फेला परेको स्थानबाट करिब एक सय मिटर टाढा भेटिनु हो।घटनालाई स्थानीयवासीले गम्भीर र निन्दनीय भन्दै यसको सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्। उनीहरूले घटनाको निष्पक्ष, सूक्ष्म र गम्भीर अनुसन्धान गरी वास्तविक दोषी भए कानुनी दायरामा ल्याउन प्रशासनसँग माग गरेका छन्।

घटनाको जानकारी प्राप्त हुनासाथ बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुख घटनास्थलमा पुगेका थिए। घटनाको प्रकृति र सम्भावित कारणबारे सुरक्षा निकायले अनुसन्धान अघि बढाएको बताइएको छ ।अनुसन्धानलाई थप प्रभावकारी बनाउन तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको वडाध्यक्ष खरेलले जानकारी दिए। प्रमुख जिल्ला अधिकारी मिश्राले घटनाको सूक्ष्म अनुसन्धान गरी वास्तविकता बाहिर ल्याउन सुरक्षा निकाय प्रतिबद्ध रहेको बताएका छन्।

फुयालको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि कलैया अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको सुरक्षा निकायले जनाएको छ ।स्थानीयवासी तथा सरोकारवालाहरूले समाजमा परिचित र सामाजिक कार्यमा सक्रिय फुयालको रहस्यमय मृत्युबारे कुनै पनि पक्ष नछुटाई निष्पक्ष अनुसन्धान गर्न र घटनाको वास्तविकता यथाशीघ्र सार्वजनिक गर्न माग गरेका छन्।