रञ्जन यादब /बारा १३ भाद्र
औद्योगिक प्रतिष्ठानहरूमा मजदुर युनियनभित्र देखिने आन्तरिक विवाद, गुटबन्दी र नेतृत्वका लागि हुने प्रतिस्पर्धाबीच जगदम्बा स्टिल्स लिमिटेडको मजदुर युनियनले भने निरन्तर सहमतिको उदाहरण प्रस्तुत गरेको छ।जितपुरसिमरा उपमहानगरपालिका–४ स्थित देवाश्रममा शनिबार सम्पन्न युनियनको ११औँ अधिवेशनबाट अध्यक्षमा दीपक बि.क. र सचिवमा दीपक कार्कीसहित सम्पूर्ण कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको हो।
युनियन स्थापना भएको २२ वर्षको अवधिमा हरेक दुई वर्षमा नियमित अधिवेशन हुँदै आए पनि नेतृत्व चयनका लागि हालसम्म मतदान गर्नुपर्ने अवस्था नआएको युनियनले जनाएको छ। लगातार ११ वटा अधिवेशनसम्म सर्वसम्मत रूपमा कार्यसमिति चयन हुनु औद्योगिक क्षेत्रको मजदुर संगठनभित्र दुर्लभ अभ्यासका रूपमा हेरिएको छ।अधिवेशनमा प्रमुख अतिथिका रूपमा उपस्थित जितपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले श्रमिक र उद्योगबीचको सम्बन्ध सुदृढ भए मात्र उद्योगको दीर्घकालीन विकास सम्भव हुने बताएका थिए। उनले श्रमिकको अधिकार र उद्योगको उत्पादनबीच सन्तुलन कायम गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए।
कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सचिव अर्जुन चिमरिया, अखिल नेपाल औद्योगिक मजदुर संघका केन्द्रीय अध्यक्ष बेनीप्रसाद तिमल्सिना, अखिल नेपाल औद्योगिक महासंघ बाराका अध्यक्ष डि.बी. थापा तथा वडा नम्बर २ का अध्यक्ष धनबहादुर श्रेष्ठलगायतले मजदुर संगठनले अधिकारको मागसँगै उद्योगको उत्पादन, श्रम अनुशासन र औद्योगिक शान्तिमा पनि भूमिका खेल्नुपर्ने धारणा राखेका थिए।
वक्ताहरूले उद्योग र श्रमिकलाई एकअर्काको प्रतिस्पर्धी नभई परिपूरक शक्तिका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए। श्रमिकको हक, अधिकार, सामाजिक सुरक्षा र कार्यस्थलको सुरक्षासँगै उद्योगको उत्पादन तथा समृद्धिलाई समान रूपमा प्राथमिकता दिनुपर्ने उनीहरूको भनाइ थियो।नवनिर्वाचित अध्यक्ष दीपक बि.क.ले युनियनभित्र कायम रहेको एकता र सहमतिको परम्परालाई निरन्तरता दिँदै श्रमिकको हकहित संरक्षणका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्। सचिव दीपक कार्कीले पनि श्रमिकको सुरक्षा, सेवा–सुविधा र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन्।
औद्योगिक क्षेत्रमा नेतृत्व चयनका क्रममा बढ्दो प्रतिस्पर्धा र गुटबन्दीका कारण कतिपय मजदुर संगठन कमजोर बन्दै गइरहेका बेला जगदम्बा स्टिल्स मजदुर युनियनले भने दुई दशकभन्दा बढी समयदेखि सहमतिका आधारमा नेतृत्व चयन गर्दै आफ्नो अलग पहिचान बनाएको छ।




