भोटेकोशी बाढी पीडितका लागि शिवशक्ति ग्रुपद्वारा ६१ लाख रुपैयाँ सहयोग

रञ्जन यादब /बारा ११ भाद्र

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि शिवशक्ति ग्रुप परिवारले कुल ६१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।भदौ १० गते बुधबार बिहान भोटेकोशी नदीमा आएको आकस्मिक र भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपरासीलगायत आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ।

उक्त अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै बारा स्थित शिवशक्ति ग्रुप र सम्बद्ध संस्थाले राहत तथा उद्धारका लागि सहायता रकम उपलब्ध गराएका हुन्।बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले शिवशक्ति ग्रुप (सञ्चालकहरु राजकुमार अग्रवाल, सन्दीप कुमार अग्रवाल र राहुल कुमार अग्रवालसहित कम्पनी परिवार) को तर्फबाट ’प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा रु. ५१ लाख सहयोग हस्तान्तरण गरिएको एक प्रेस बिज्ञेप्ति जारी गरी शिवशक्ति ग्रुपले जनाएको छ । उक्त रकम अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको छ ।

यसैगरी, बारास्थित रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिज प्रा.लि.का तर्फबाट थप रु. १० लाखसहयोग प्रदान गरिएको छ।विपद्को यस कठिन समयमा सम्पूर्ण उद्योगी, व्यवसायी, संघ–संस्था तथा आम नागरिकलाई आफ्नो क्षमताअनुसार राहत र उद्धार अभियानमा जुट्न शिवशक्ति ग्रुपले अपिलसमेत गरेको छ।