रञ्जन यादब /बारा १० भाद्र
बाराको सिम्रौनगढ नगरपालिका वडा नं.३, नयकाटोलामा खेतमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।मंगलबार साँझ करिब ५ बजे स्थानीय रामईश्वर दासका ३२ वर्षीय छोरा विजय दास आफ्नै खेतमा मोटरमार्फत पानी निकाल्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका थिए।घाइते दासलाई उपचारका लागि तत्काल सिम्रौनगढस्थित धर्मलाल क्लिनिकमा पु¥याइएको थियो। तर, क्लिनिकमा पु¥याउँदा चिकित्सकले उनलाई बाटोमै मृत्यु भइसकेको जानकारी दिएको बारा प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साहको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।मुचुल्का प्रक्रिया पूरा भएपछि साँझ करिब ७ः४५ बजे मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको प्रहरीले जनाएको छ।




