रञ्जन यादब /बारा १० भाद्र
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ बकुलियाकी एक महिला विषालु करेट सर्पले डसेपछि गम्भीर अवस्थामा अस्पताल भर्ना भएकीमा उपचारपछि स्वास्थ्यमा सुधार आएपछि घर फर्किएकी छन्। ५५ वर्षीया रामपति देवी महतोलाई गत भदौ २ गते बिहान करिब ४ बजे सुतिरहेको अवस्थामा करेट सर्पले डसेको थियो। आफ्नै घरमा भुइँमा ओछ्यान लगाएर सुतेकी उनलाई सर्पले डसेपछि अचानक स्वास्थ्य अवस्था बिग्रिएको परिवारले जनाएको थियो ।
सर्पको डसाइपछि उनलाई तत्काल उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल लगिएको थियो। अस्पतालमा उपचारका क्रममा उनको अवस्था गम्भीर रहेको बताइएको थियो।घटनाको जानकारी भदौ २ गते बिहान करिब ६ः१० बजे इलाका प्रहरी कार्यालय जीतपुरमा पुगेपछि प्रहरी सहायक निरीक्षक तेजनारायण बैठाको नेतृत्वमा दुई सदस्यीय प्रहरी टोली घटनास्थलमा पुगेको थियो।लगातार उपचारपछि रामपति देवीको स्वास्थ्यमा क्रमशः सुधार आएको बताइएको छ। यही भदौ १० गते अपराह्न करिब ४ः४८ बजे उनका आफन्तले स्वास्थ्य अवस्थामा सुधार आएको भन्दै अस्पतालबाट डिस्चार्ज मागेका थिए। त्यसपछि उनलाई परिवारले आफ्नै घरतर्फ लगेको अस्पतालमा खटिएको प्रहरीमार्फत जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।




