गोप्य भिडियो सार्वजनिक गरेको आरोपमा बारा प्रहरीले एक प्रहरी हवल्दारलाई पक्राउ

रञ्जन यादब /बारा ०८ भाद्र

तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कार तथा हत्या प्रकरणमा पक्राउ परेका १६ वर्षीय बालकसँग सम्बन्धित गोप्य भिडियो सार्वजनिक गरेको आरोपमा बारा प्रहरीले आफ्नै एक प्रहरी हवल्दारलाई पक्राउ गरेको छ।कलैया प्रादेशिक अस्पतालस्थित लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा चिकित्सकले पक्राउ परेका बालकसँग परामर्श तथा सोधपुछ गरिरहेको भिडियो आइतबार साँझदेखि सामाजिक सञ्जालमा भाइरल बनेको थियो। संवेदनशील प्रकृतिको उक्त भिडियो सार्वजनिक भएपछि प्रहरीले आन्तरिक छानबिन सुरु गरेको थियो।

छानबिनका क्रममा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हवल्दार कुमार विकले भिडियो बाहिर पठाएको खुलेपछि उनलाई नियन्त्रणमा लिइएको बारा प्रहरीले जनाएको छ। पक्राउ परेका विकमाथि फौजदारी कसुरअन्तर्गत मुद्दा दर्ता गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइने बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले जानकारी दिएका छन्।अनुसन्धानका क्रममा गोपनीयता कायम राख्नुपर्ने संवेदनशील कक्षभित्रको भिडियो बाहिरिएपछि गरिमा हत्या प्रकरणको अनुसन्धानमा समेत प्रश्न उठेको थियो। घटनाको अनुसन्धान गरिरहेको प्रहरी प्रशासनमाथि गोपनीयता उल्लंघन भएको भन्दै विभिन्न क्षेत्रबाट दबाबसमेत परेको थियो।

भाइरल भिडियोमा हातमा हतकडी लगाइएका १६ वर्षीय बालकले चिकित्सकसँगको कुराकानीका क्रममा घटनामा आफू मात्र नभई अर्का एक साथीको पनि संलग्नता रहेको दाबी गरेका छन्। तर यसअघि अनुसन्धानका क्रममा उनले घटना एक्लैले गरेको बयान दिँदै आएका थिए ।भिडियो सार्वजनिक भएपछि बालकको पछिल्लो भनाइ र घटनामा अन्य व्यक्तिको सम्भावित संलग्नताबारे समेत प्रहरीले थप अनुसन्धान अघि बढाएको बुझिएको छ ।