नगर उद्योग वाणिज्य संघका अध्यक्ष गुप्ता उद्योग समितिको आमन्त्रित सदस्यमा मनोनित

रञ्जन यादब /बारा ३१ साउन

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्रकुमार गुप्ता नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समितिको आमन्त्रित सदस्यमा मनोनित भएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले कार्यकारिणी समिति सदस्य उज्ज्वल कुमार श्रेष्ठको सभापतित्वमा गठन गरेको उद्योग समितिमा गुप्तालाई आमन्त्रित सदस्यका रूपमा जिम्मेवारी दिएको हो।

महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले गुप्तालाई मनोनयनसम्बन्धी पत्र हस्तान्तरण गरेका छन्।मनोनयन पत्रमा गुप्ताको सहभागिताले उद्योग समितिलाई थप प्रभावकारी बनाउन तथा मुलुकको औद्योगिक क्षेत्रको विकास र प्रवद्र्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ। महासंघले उद्योग क्षेत्रका समस्या, सम्भावना र नीतिगत विषयमा समितिमार्फत हुने काममा गुप्ताको सक्रिय भूमिका रहने अपेक्षा गरेको छ।

हालै जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको निर्वाचनबाट अध्यक्षमा निर्वाचित गुप्ता लामो समयदेखि उद्योग तथा व्यवसाय क्षेत्रको हितमा सक्रिय रहँदै आएका छन्। महासंघको उद्योग समितिमा प्राप्त नयाँ जिम्मेवारीले स्थानीय उद्योगी–व्यवसायीका मुद्दालाई राष्ट्रिय तहमा उठाउन थप अवसर मिल्ने अपेक्षा गरिएको छ।