रञ्जन यादब /बारा ०१ भाद्र
नेपाली कम्युनिस्ट पार्टी, जिल्ला समिति बाराले जनजीविकासँग प्रत्यक्ष जोडिएका समस्याहरू तत्काल समाधान गर्न माग गर्दै प्रधानमन्त्रीलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय बारा, कलैयामार्फत प्रधानमन्त्रीसमक्ष बुझाइएको ध्यानाकर्षण पत्रमा किसानले भोग्दै आएको रासायनिक मलको अभावदेखि खाना पकाउने ग्यास, विद्युत्, सरकारी सेवा, स्वास्थ्य, रेबिज भ्याक्सिन र बढ्दो महँगी नियन्त्रणसम्मका विषय समेटिएका छन् ।
पार्टी संयोजक गिता कडेलद्वारा हस्ताक्षरित पत्रमा सरकारले सुशासनलाई प्रमुख एजेन्डा बनाए पनि जनताले दैनिक जीवनमा त्यसको अनुभूति गर्न नसकेको उल्लेख गरिएको छ। जनताका आधारभूत आवश्यकता र समस्याप्रति सरकार गम्भीर बन्नुपर्ने पार्टीको माग छ।पार्टीले किसानलाई अनुदान तथा सहुलियत मूल्यमा रासायनिक मल सहज रूपमा उपलब्ध गराउन, खाना पकाउने ग्यासको अभाव अन्त्य गर्न र नियमित आपूर्ति सुनिश्चित गर्न माग गरेको छ। त्यस्तै, दैनिक १५ देखि २० पटकसम्म हुने अघोषित विद्युत् कटौती अन्त्य गरी विद्युत् महसुलमा लगाइएको अनावश्यक कर हटाउन माग गरिएको छ। मालपोत, नापी, जिल्ला प्रशासन तथा यातायातलगायत सरकारी कार्यालयमा हुने ढिलासुस्ती र लापरवाही अन्त्य गरी नागरिकलाई छिटोछरितो सेवा उपलब्ध गराउन पनि पार्टीले ध्यानाकर्षण गराएको छ।
स्वास्थ्यतर्फ सरकारी अस्पतालमा हप्ताको दुई दिन बिदा दिने व्यवस्था हटाई २४ सै घण्टा विशेषज्ञ सेवा उपलब्ध गराउन तथा प्राथमिक स्वास्थ्य केन्द्रहरूमा सर्पदंश उपचारका लागि एन्टिस्नेक भेनमको सहज व्यवस्था गर्न माग गरिएको छ। जिल्लामा देखिएको रेबिज भ्याक्सिनको अभाव तत्काल समाधान गर्न पनि पार्टीले आग्रह गरेको छ। त्यसैगरी, दैनिक उपभोग्य वस्तुको बढ्दो मूल्य नियन्त्रण गर्न प्रभावकारी बजार अनुगमनलाई तीव्रता दिनुपर्ने माग गरिएको छ। पार्टीले ध्यानाकर्षण पत्रमा उठाइएका विषयलाई गम्भीरतापूर्वक लिएर तत्काल सम्बोधन गर्न सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ।




