रञ्जन यादब /बारा ३१ साउन
बाराको कोल्हबी नगरपालिका वडा नं.५ सखुहवाबाट वन गस्ती टोलीले अवैध रूपमा ओसारपसार गर्न लागिएको सालको गोलियासहित पाँचवटा साइकल बरामद गरेको छ। विशेष सूचनाका आधारमा कोल्हबी सब–डिभिजन वन कार्यालयबाट अधिकृत कृष्ण पटेलको कमाण्डमा खटिएको वन गस्ती टोलीले गएराति सखुहवा क्षेत्रमा चेकजाँच गर्ने क्रममा सालको गोलियासहितका पाँचवटा साइकल बरामद गरेको हो।

डिभिजन वन कार्यालय बाराका डिभिजनल वन अधिकृत सुजितकुमार झाले बरामद गरिएका पाँच थान सालका गोलिया करिब २० क्युफिट रहेको जानकारी दिनुभयो। वन गस्ती टोलीलाई देखेपछि काठ ओसारपसारमा संलग्न व्यक्तिहरू साइकलमा लोड गरिएको काठ छाडेर फरार भएको कोल्हबी सब–डिभिजन वन कार्यालयका अधिकृत कृष्ण पटेलले बताउनुभयो।

बरामद गरिएको काठ र साइकल आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वन कार्यालयमा ल्याइएको छ। वन क्षेत्रमा हुने अवैध काठ कटानी तथा ओसारपसार नियन्त्रणका लागि गस्ती र निगरानीलाई थप कडाइ गरिने डिभिजन वन कार्यालय बाराले जनाएको छ।




