जितपुरसिमरा नगर अस्पतालमा सर्पदंश उपचार सेवा सञ्चालन गर्न प्रतिबद्धता जनाउँदैँ अनुमति माग

रञ्जन यादब /बारा ३० साउन

जितपुरसिमरा उपमहानगरपालिकाले नगर अस्पतालमा सर्पदंश उपचार सेवा सञ्चालनका लागि आधिकारिक अनुमति प्रदान गर्न इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु, काठमाडौं समक्ष प्रतिबद्धता जनाउँदै माग गरेको छ ।नगर प्रमुख राजन पौडेल र प्रमुख प्रशासकीय अधिकृत डमरु प्रसाद निरौलाद्वारा हस्ताक्षरित पत्रमार्फत उपमहानगरपालिकाले महाशाखासँग नगर अस्पतालको अनुगमन गरी सर्पदंश उपचार सेवा सञ्चालनको अनुमति दिन आग्रह गरेको हो।

पत्रमा आवश्यक पूर्वाधार, जनशक्ति तथा उपकरणको व्यवस्थापन भइसकेको उल्लेख गर्दै तत्काल सेवा सञ्चालन गर्न अस्पताल सक्षम रहेको प्रतिबद्धता व्यक्त गरिएको छ।जितपुरसिमरा क्षेत्रमा प्रत्येक वर्ष सर्पदंशका उल्लेख्य घटना हुने गरेका छन्। विशेषगरी वैशाखदेखि कात्तिकसम्मको अवधिमा विगत तीन वर्षको तथ्यांक अनुसार वार्षिक औसतमा ५० देखि ५५ जना बिरामी सर्पदंशको शिकार हुने गरेका छन्। हाल उपचारका लागि बिरामीलाई करिब ४० किलोमिटर टाढाको कलैया प्रादेशिक अस्पताल वा ३० किलोमिटर दूरीमा रहेको नारायणी अस्पताल, वीरगञ्ज पठाउनुपर्ने बाध्यता रहेको छ ।समयमै उपचार नपाउँदा बिरामीको ज्यान जाने तथा अपाङ्गता हुने जोखिम बढिरहेको अवस्थामा आर्थिक वर्ष २०८२÷०८३ मा सर्पदंशका कारण दुई जना बालबालिकाको मृत्यु भएको तथ्यांक पनि सार्वजनिक गरिएको छ।

अधिकांश गम्भीर बिरामी अन्य अस्पतालमा रिफर हुने भएकाले वास्तविक तथ्यांक अझ बढी हुन सक्ने अनुमान गरिएको छ ।नगर अस्पतालमा विगत तीन वर्षदेखि मेडिकल अफिसर, नर्स तथा पारामेडिक्सको टोलीमार्फत २४ सै घण्टा आकस्मिक सेवा सञ्चालन हुँदै आएको छ। सर्पदंश उपचारका लागि आवश्यक औषधि, उपकरण तथा भौतिक संरचनाको तयारी पूरा भइसकेको जनाउँदै महाशाखाबाट अनुमति प्राप्त भएलगत्तै सेवा सुरु गरिने उपमहानगरपालिकाले जनाएको छ।

नगर अस्पतालमै सर्पदंश उपचार केन्द्र स्थापना भएमा जितपुरसिमरा तथा आसपासका क्षेत्रका नागरिकले समयमै उपचार पाउने, अनावश्यक रूपमा टाढा अस्पताल धाउनुपर्ने बाध्यता अन्त्य हुने तथा सर्पदंशका कारण हुने मृत्यु र अपाङ्गता न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।