रञ्जन यादब /बारा २९साउन
बारा प्रहरीले महागढीमाई नगरपालिकाका विभिन्न स्थानमा अवैध रूपमा सञ्चालन हुँदै आएका घरेलु मदिरा उत्पादन गर्ने भट्टीमा छापा मार्दै ठूलो परिमाणमा कच्चा पदार्थ नष्ट गरेको छ ।महागढीमाई नगरपालिका वडा नं.३ ग्वास टोल र वडा नम्बर १० गञ्जभवानीपुरमा घरेलु मदिरा उत्पादन भइरहेको सूचनापछि प्रहरीले संयुक्त रूपमा कारबाही गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार प्रहरी चौकी गञ्जभवानीपुरबाट प्रहरी नायब निरीक्षक बहादुर प्रसाद यादवको नेतृत्वमा तीन जना र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक नवलकिशोर साहको नेतृत्वमा १३ जना गरी १६ जनाको टोली परिचालन गरिएको थियो। प्रहरी टोलीले अवैध रूपमा सञ्चालन गरिएका भट्टी फेला पारी त्यहाँ मदिरा बनाउन प्रयोग गरिएको करिब १० हजार लिटर कच्चा पदार्थ नष्ट गरेको जनाएको छ। कारबाहीका क्रममा साना प्लास्टिकका ११ वटा ड्रम र एउटा टिनको ड्रमसमेत नियन्त्रणमा लिइएको छ।
बरामद भएका ड्रमलगायतका सामग्री जिल्ला प्रहरी कार्यालय बारामा ल्याएर राखिएको प्रहरीले जनाएको छ ।प्रहरीले अवैध मदिरा उत्पादनमा संलग्न रहेको आरोपमा महागढीमाई नगरपालिका वडा नं.३ का सोभिलाल राम, खुबलाल राम, सावित्री पासवान, राजकुमार राम र अस्पताली राम तथा वडा नम्बर १० का भोला राम, प्रभु राम र रामानन्द जैसवालको नाम सार्वजनिक गरेको छ।अवैध घरेलु मदिरा उत्पादन तथा बिक्रीवितरण नियन्त्रणका लागि गरिएको कारबाहीपछि घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।




