बंकुल र कुशमाडी सरयामा विद्युत् लाइन सुचारु, कृषि विद्युतीकरण योजनाले गति लिँदै

रञ्जन यादब /बारा २९ साउन

बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको नगर गौरव योजनाअन्तर्गत सञ्चालन भइरहेको कृषि विद्युतीकरण कार्यक्रमले गति लिएको छ। आर्थिक वर्ष २०८०÷०८१ को नगर गौरव योजनाअन्तर्गत वडा नम्बर १७, १८, १९, २० र २४ मा सञ्चालन भइरहेको विद्युत् विस्तार योजनाअन्तर्गत वडा नम्बर १८ का बंकुल र कुशमाडी सरयामा आजदेखि ट्रान्सफर्मर जडान गरी विद्युत् लाइन सुचारु गरिएको हो।

उपमहानगरपालिकाको ३ करोड रुपैयाँ तथा सम्बन्धित मन्त्रालयको ७५ लाख रुपैयाँको साझेदारीमा नेपाल विद्युत् प्राधिकरण कलैया वितरण केन्द्रमार्फत सञ्चालन भइरहेको उक्त योजना अझै केही स्थानमा सम्पन्न हुन बाँकी रहेको बताइएको छ।लामो समयदेखि विद्युत् सेवाको समस्याबाट प्रभावित स्थानीयवासीका लागि बंकुल र कुशमाडी सरयामा लाइन सुचारु भएपछि राहत मिलेको वडा नं.१८ का वडा अध्यक्ष चतुरबाबु वाग्लेले जानकारी दिनुभयो ।

विद्युत् सेवा विस्तारसँगै कृषि क्षेत्रमा सिँचाइ तथा अन्य विद्युतीय उपकरणको प्रयोग सहज हुने अपेक्षा गरिएको छ।योजना कार्यान्वयनमा नगर प्रमुख राजन पौडेलको पहल महत्वपूर्ण रहेको स्थानीयको भनाइ छ। कृषि विद्युतीकरण योजनाका बाँकी कामसमेत छिट्टै सम्पन्न भए वडा नम्बर १७, १८, १९, २० र २४ का किसान तथा स्थानीयवासीले विद्युत् सेवाबाट थप लाभ लिन सक्ने अपेक्षा गरिएको छ।