जरिवाना नतिर्ने उद्योगलाई उपमहानगरको अन्तिम चेतावनी, तीन दिनभित्र रकम बुझाउन निर्देशन

 वातावरणीय मापदण्ड पालना नगरेको आरोपमा कारबाहीमा परेका दुई ठूला उद्योगलाई जीतपुरसिमरा उपमहानगरपालिकाले जरिवाना बुझाउन अन्तिम पटक तीन दिनको समय दिएको छ।

उपमहानगरपालिकाले मंगलबार जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित हुलास स्टील इन्डस्ट्रिज र वडा नं. ३ मा रहेको गणपति वनस्पति लिमिटेडलाई जरिवाना रकम अनिवार्य रूपमा बुझाउन लिखित सूचना जारी गर्दै तीन दिनको अन्तिम समयसीमा तोकेको हो।

वातावरणीय प्रदूषण नियन्त्रणमा लापरबाही गरेको आरोपमा कारबाहीमा परेका तीन उद्योगमध्ये नन्दन घिउ एण्ड आयल इन्डस्ट्रिजले भने सोमबार तोकिएको दुई लाख ५० हजार रुपैयाँ जरिवाना उपमहानगरपालिकाको नेपाल बैंकस्थित राजस्व खातामा दाखिला गरिसकेको छ। तर हुलास स्टील र गणपति वनस्पतिले हालसम्म जरिवाना नतिरेको उपमहानगरपालिकाले जनाएको छ।

यसअघि असार २९ गते उपमहानगरपालिकाले सात दिनभित्र जरिवाना बुझाउन निर्देशन दिँदै हुलास स्टीललाई पाँच लाख रुपैयाँ तथा नन्दन घिउ एण्ड आयल इन्डस्ट्रिज र गणपति वनस्पति लिमिटेडलाई समान दुई लाख ५० हजार रुपैयाँ जरिवाना गरेको थियो। असार १५ गते मागिएको स्पष्टीकरण सन्तोषजनक नभएपछि उद्योगहरूलाई कारबाही गरिएको जनाइएको छ।

उपमहानगरपालिकाले गठन गरेको वातावरणीय अनुगमन समितिको स्थलगत निरीक्षण, नगर प्रहरीको प्रतिवेदन तथा वातावरणीय कारबाही सिफारिसका आधारमा उद्योगहरूले वातावरणीय मापदण्ड उल्लंघन गरेको निष्कर्ष निकालिएको थियो। अनुगमनका क्रममा उद्योगहरूले फोहोर, तेलजन्य पदार्थ र लेदो जथाभावी फाल्ने, फोहोर पानीको उचित व्यवस्थापन नगर्ने, कार्यस्थलमा आवश्यक सुरक्षा मापदण्ड पालना नगर्ने तथा स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदन विपरीत गतिविधि सञ्चालन गरेको पाइएको उपमहानगरपालिकाको दाबी छ।

यता हुलास स्टीलले भने आफूहरूले कुनै प्रकारको प्रदूषण नगरेको दाबी गर्दै उपमहानगरपालिकासँग जरिवानाको आधार र प्रमाण उपलब्ध गराउन माग गरेको छ। उद्योगले प्रमाणबिना जरिवाना तिर्न नसकिने अडान राखेको छ।

उपमहानगरपालिकाको वातावरण शाखा प्रमुख इन्जिनियर पुष्पा सिंहका अनुसार तोकिएको थप तीन दिनभित्र पनि जरिवाना नबुझाए वातावरण संरक्षण ऐन, २०७६, वातावरण संरक्षण नियमावली, २०७७, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्य प्रचलित कानुनअनुसार जरिवाना असुलउपरका लागि थप कानुनी प्रक्रिया अघि बढाइनेछ।