रञ्जन यादव /बारा
बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ मा प्रहरीले छुट्टाछुट्टै कारबाही गर्दै ब्राउन सुगर र गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी टोलीले सोमबार लागूऔषध नियन्त्रण अभियान अन्तर्गत दुई फरक स्थानमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय जितपुरका प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको कमाण्डमा खटिएको टोलीले सोमबार दिउँसो करिब २ बजे जितपुरसिमरा–७ को पहाडी टोलमा शंकास्पद गतिविधि गरिरहेका स्थानीय २५ वर्षीय विदेशी ठाकुरलाई नियन्त्रणमा लिएको थियो। खानतलासीका क्रममा उनको साथबाट थोरै परिमाणमा ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।पक्राउ परेका ठाकुरलाई आवश्यक प्रारम्भिक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान तथा लागूऔषध परीक्षणका लागि इलाका प्रहरी कार्यालय सिमरा पठाइएको प्रहरीले जानकारी दिएको छ। बरामद गरिएको पदार्थको प्रकृति तथा स्रोतबारे समेत अनुसन्धान भइरहेको जनाइएको छ।यसैगरी, सोमबार अपराह्न जितपुरसिमरा–७ कै सिधरी टोलमा गरिएको अर्को कारबाहीमा स्थानीय ३७ वर्षीय दिवेन्द्र बैठालाई २ किलो ७५४ ग्राम गाँजाजस्तो देखिने पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

विशेष सूचनाका आधारमा गरिएको खानतलासीका क्रममा उक्त परिमाणको गाँजा बरामद भएपछि उनलाई तत्काल नियन्त्रणमा लिइएको हो।पक्राउ परेका बैठालाई इलाका प्रहरी कार्यालय जितपुरको हिरासतमा राखी लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। बरामद गरिएको गाँजाको स्रोत, ओसारपसारमा अन्य व्यक्तिको संलग्नता तथा सम्भावित सञ्जालबारे समेत अनुसन्धान भइरहेको छ।प्रहरीले पछिल्लो समय लागूऔषध ओसारपसार, बिक्री–वितरण तथा सेवन नियन्त्रणका लागि विशेष निगरानी बढाइएको जनाएको छ।

समुदायबाट प्राप्त गोप्य सूचनाका आधारमा यस्ता कारबाहीलाई निरन्तरता दिइने भन्दै लागूऔषधसम्बन्धी कुनै पनि सूचना नजिकको प्रहरी कार्यालयमा उपलब्ध गराउन सर्वसाधारणसँग आग्रह गरिएको छ। साथै, लागूऔषधविरुद्धको अभियानलाई प्रभावकारी बनाउन स्थानीय समुदायको सहयोग आवश्यक रहेको प्रहरीले जनाएको छ।




