पथलैयाबाट राति ट्रक लिएर सहचालक सम्पर्कविहीन, प्रहरीले थालेको खोजी

रञ्जन यादव /बारा, साउन ४

बाराको पथलैयाबाट आइतबार राति पार्किङमा राखिएको एउटा मालबाहक खाली ट्रक लिएर सहचालक सम्पर्कविहीन भएका छन्। ना६ख १३५७ नम्बरको उक्त ट्रक राति पार्किङ स्थलबाट निकालिएको भए पनि सोमबार दिउँसोसम्म ट्रक र सहचालक दुवैको अवस्था खुल्न सकेको छैन।

प्रहरीका अनुसार राति करिब ११ बजेतिर सहचालकले पार्किङमा रहेको ट्रक चलाएर बाहिरिएको दृश्य सिसिटिभी क्यामेरामा कैद भएको छ। तर ट्रक कुन दिशातर्फ गएको भन्ने दृश्य स्पष्ट नदेखिएकाले विभिन्न स्थानका सिसिटिभी फुटेज संकलन गरी अनुसन्धान अघि बढाइएको छ।उक्त ट्रक पथलैयाका स्थानीय सोम गुरुङको स्वामित्वमा रहेको प्रहरीले जनाएको छ। ट्रकका चालक पथलैयाकै ३१ वर्षीय अनोज थापाले राति घर जानुअघि ट्रकको चाबी सहचालकलाई जिम्मा लगाएर गएको बताएका छन्। सोमबार बिहान काममा फर्किँदा ट्रक पार्किङ स्थलमा नभेटिएपछि उनले प्रहरीलाई जानकारी गराएका थिए।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार सहचालकले कसैलाई जानकारी नदिई ट्रक लिएर गएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। ट्रक र सहचालकको खोजी कार्यलाई तीव्र बनाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो।