रञ्जन यादब /बारा ०४ साउन
बाराको प्रसौनी गाउँपालिका–४ खुटवामा हरियाली विस्तार गर्दै वातावरण संरक्षण र स्थानीयको आयआर्जन प्रवद्र्धन गर्ने उद्देश्यका साथ ५०० भन्दा बढी बिरुवा निःशुल्क वितरण गरिएको छ। डिभिजन वन कार्यालय बाराको सहयोग, चुरे तथा वनजंगल संरक्षण अभियान नेपालको समन्वय तथा नयाँ कदम नेपालको आयोजनामा सोमबार सञ्चालन गरिएको वृक्षारोपण तथा आयआर्जन प्रवद्र्धन अभियानअन्तर्गत स्थानीयवासीलाई तेजपत्ता, कल्की, बडहर, निम, अमला लगायतका बहुउपयोगी बिरुवा वितरण गरिएको हो।

कार्यक्रममा नयाँ कदम नेपालका अध्यक्ष रञ्जित पाण्डेको अध्यक्षता रहेको थियो भने संस्थाका पदाधिकारी, समाजसेवी तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाकी सचिव अनुराधा अधिकारीले तेजपत्ताको व्यावसायिक खेती ग्रामीण क्षेत्रका किसानका लागि आयआर्जनको प्रभावकारी माध्यम बन्न सक्ने बताउनुभयो। उहाँले दैनिक उपभोगमा प्रयोग हुने मसला स्थानीय स्तरमै उत्पादन गर्न सके बाह्य बजारमा निर्भरता घट्नुका साथै किसानले उत्पादनको उचित मूल्य पाउने विश्वास व्यक्त गर्नुभयो। स्थानीय उत्पादनको विस्तारले गाउँको अर्थतन्त्रलाई समेत मजबुत बनाउने उहाँको भनाइ थियो।
अध्यक्ष रञ्जित पाण्डेले वातावरण संरक्षण र आर्थिक समृद्धिलाई सँगसँगै अघि बढाउने लक्ष्यका साथ संस्थाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। आगामी दिनमा पनि वृक्षारोपण, हरियाली विस्तार तथा समुदायको जीवनस्तर उकास्ने अभियानलाई निरन्तरता दिइने उहाँले बताउनुभयो। हरियाली अभियानलाई सफल बनाउन स्थानीय समुदाय, सरकारी निकाय र सरोकारवालाबीच सहकार्य अपरिहार्य रहेको उहाँको जोड थियो।नयाँ कदम नेपालले वातावरणीय सन्तुलन कायम राख्दै स्थानीय बासिन्दालाई फलफूल तथा बहुउपयोगी बिरुवाको खेतीतर्फ आकर्षित गर्ने र त्यसमार्फत दिगो आयआर्जनको अवसर सिर्जना गर्ने उद्देश्यका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।




