रञ्जन यादव /बारा ३२ असार
जीतपुरसिमरा उपमहानगरपालिकाले वातावरणीय मापदण्ड उल्लंघन गरेको भन्दै सिमरास्थित हुलास स्टिल इण्डष्ट्रिज लिमिटेडलाई ५ लाख रुपैयाँ जरिवाना गरेको छ। उद्योगबाट निस्कने फोहोर, फोहोरपानी तथा तेलजन्य पदार्थको उचित व्यवस्थापन नगरी वातावरण प्रदूषित गरेको निष्कर्षसहित उपमहानगरपालिकाले वातावरण संरक्षण ऐन, २०७६ बमोजिम उक्त कारबाही गरेको हो।
उपमहानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन शाखाका अनुसार गत असार ७ गते वातावरणीय अनुगमन समिति र नगर प्रहरीले संयुक्त रूपमा उद्योगको स्थलगत अनुगमन गरेका थिए। अनुगमनका क्रममा उद्योगबाट निस्कने औद्योगिक फोहोर, तेलजन्य पदार्थ र स्लरी सार्वजनिक सडक तथा आसपासका क्षेत्रमा फैलिएको, फोहोरपानीको उचित व्यवस्थापन नगरिएको, कार्यस्थलमा आवश्यक सुरक्षा मापदण्ड पालना नभएको तथा स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदन र वातावरणीय व्यवस्थापन योजनाअनुसारका दायित्व कार्यान्वयन नभएको भेटिएको थियो।
अनुगमन प्रतिवेदनका आधारमा उपमहानगरपालिकाले असार १५ गते उद्योगसँग स्पष्टीकरण माग गरेको थियो। उद्योगले असार १८ गते लिखित स्पष्टीकरण बुझाए पनि त्यसले अनुगमनबाट देखिएका तथ्यलाई पुष्टि गर्न नसकेको तथा वातावरणीय उल्लंघनलाई खण्डन गर्ने पर्याप्त आधार प्रस्तुत गर्न नसकेको उपमहानगरपालिकाको निष्कर्ष छ। त्यसपछि असार २५ गते बसेको निर्णयअनुसार उद्योगलाई ५ लाख रुपैयाँ जरिवाना गरिएको हो।वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख इन्जिनियर पुष्पा सिंहद्वारा हस्ताक्षरित पत्रमार्फत उद्योगलाई पत्र प्राप्त भएको सात दिनभित्र जरिवाना रकम उपमहानगरपालिकाको राजस्व खातामा दाखिला गरी सक्कल भौचर कार्यालयमा पेश गर्न निर्देशन दिइएको छ।
जरिवानासँगै उद्योगलाई तत्काल सुधारात्मक कदम चाल्न पनि उपमहानगरपालिकाले निर्देशन दिएको छ। उद्योगबाट निस्कने फोहोर, धुलो, ध्वनि, फोहोरपानी र तेलजन्य पदार्थको प्रभावकारी व्यवस्थापन गर्न, स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदन तथा वातावरणीय व्यवस्थापन योजना पूर्ण रूपमा कार्यान्वयन गर्न, औद्योगिक फोहोर र स्लरीको वैज्ञानिक व्यवस्थापन गरी सार्वजनिक सडक, नाला तथा आसपासका क्षेत्रमा प्रदूषण हुन नदिन तथा सुधारात्मक कार्य सम्पन्न भएको प्रमाणसहितको प्रतिवेदन तोकिएको समयभित्र पेश गर्न भनिएको छ।
उपमहानगरपालिकाले तोकिएको अवधिभित्र जरिवाना नतिरे वा निर्देशनअनुसार सुधारात्मक कार्य नगरे वातावरण संरक्षण ऐन, २०७६, वातावरण संरक्षण नियमावली, २०७७, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्य प्रचलित कानुनबमोजिम थप कडा कानुनी कारबाही अघि बढाइने चेतावनी पनि दिएको छ।पछिल्लो समय बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरूबाट वातावरणीय प्रदूषण बढेको गुनासो स्थानीयवासीले निरन्तर उठाउँदै आएका छन्। उद्योगबाट निस्कने धुलो, धुवाँ, फोहोरपानी तथा औद्योगिक अवशेषका कारण जनस्वास्थ्य र वातावरणमा प्रतिकूल असर परेको भन्दै स्थानीय तहमा पटक–पटक उजुरी पर्दै आएका छन्। यसैबीच जीतपुरसिमरा उपमहानगरपालिकाले वातावरणीय मापदण्ड उल्लंघन गर्ने उद्योगमाथि कारबाहीलाई कडाइ गर्न थालेको छ । हुलास स्टिलमाथिको ५ लाख रुपैयाँको जरिवानालाई उपमहानगरपालिकाले वातावरणीय कानुन कार्यान्वयनतर्फको महत्वपूर्ण कदमका रूपमा लिएको छ। यस कारबाहीले औद्योगिक करिडोरका अन्य उद्योगहरूलाई पनि वातावरणीय दायित्वप्रति जिम्मेवार बन्न स्पष्ट सन्देश दिएको स्थानीय सरोकारवालाहरूको भनाइ छ।




