बारा–पर्सा औद्योगिक करिडोरका उद्योगको अनुगमन, वातावरण प्रदूषण र सार्वजनिक जग्गा अतिक्रमणबारे स्थानीयको गुनासो

रञ्जन यादब /

 बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित केही उद्योगले वातावरणीय मापदण्ड उल्लंघन गर्नुका साथै सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै बढ्दो गुनासोपछि गृहमन्त्री सुधन गुरुङले स्थलगत अनुगमन गरेका छन्।अनुगमनका क्रममा गृहमन्त्री गुरुङले जगदम्बा स्टिल, हुलास स्टिललगायत करिडोरका विभिन्न उद्योगको निरीक्षण गर्दै स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय र प्रभावित बासिन्दासँग छलफल गरेका थिए। त्यसक्रममा स्थानीयले उद्योग सञ्चालनसँग जोडिएका विभिन्न समस्या मन्त्रीसमक्ष राखेका थिए।स्थानीयका अनुसार कतिपय उद्योगले वातावरणीय मापदण्डको प्रभावकारी पालना नगर्दा उद्योगबाट निस्कने धुलो, धुवाँ तथा फोहोरले आसपासका बस्ती प्रत्यक्ष प्रभावित भएका छन्।

वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी रोग, आँखा पोल्ने तथा अन्य स्वास्थ्य समस्या बढ्दै गएको उनीहरूको गुनासो थियो।त्यसैगरी, केही उद्योगले राष्ट्रिय वन क्षेत्र, ऐलानी जग्गा, सार्वजनिक पुल–पुलेसा आसपासको क्षेत्र तथा नेपाल रेल्वेको पुरानो मार्ग अतिक्रमण गरेको आरोप पनि स्थानीयले लगाएका छन्। भूमाफिया र उद्योगीबीचको मिलेमतोमा सार्वजनिक सम्पत्ति निजी स्वामित्वमा पारिएको दाबी गर्दै उनीहरूले रेल्वेको जग्गासहित सबै अतिक्रमित क्षेत्रको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्।स्थानीयका गुनासा सुनेपछि गृहमन्त्री गुरुङले वातावरण संरक्षण र सार्वजनिक सम्पत्तिको सुरक्षा सरकारको प्राथमिकताको विषय भएको उल्लेख गर्दै कानुनविपरीत हुने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताए। प्राप्त गुनासाको आधारमा सम्बन्धित निकायमार्फत विस्तृत अध्ययन गराई आवश्यक कानुनी प्रक्रिया अघि बढाइने उनको भनाइ थियो।

अनुगमनमा सहभागी स्थानीयले उद्योग सञ्चालनका नाममा भइरहेको वातावरणीय क्षति तथा सार्वजनिक सम्पत्तिको दोहनमाथि निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न र प्रभावित नागरिकको स्वास्थ्य सुरक्षाका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका छन्।