सिमराको १० वटा पसलमा छड्के संयुक्त अनुगमन ,नारायणी फुड्स उद्योगलाई २० हजार रुपैया जरिवाना

रञ्जन यादब /बारा २९ बैशाख

बाराको जीतपुरसिमरा उपमहानगरपालिका सिमरा क्षेत्रमा मंगलबार छड्के रुपमा संयुक्त बजार अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय बाराको नेतृत्वमा खटिएको संयुक्त अनुगमन टोलीले उपमहानगरपालिकाको वडा नं. १ र २ मा रहेका खाद्य, किराना तथा मिठाई पसलसहित १० वटा व्यावसायिक फर्महरूको अनुगमन गरेको हो।अनुगमनका क्रममा जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित नारायणी फुड्स उद्योगले आवश्यक विवरणसहितको लेबल नराखी खाद्य सामग्री उत्पादन तथा बिक्री वितरण गरेको र खाद्य अनुमति पत्रसमेत नलिई उद्योग सञ्चालन गरेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन बमोजिम उद्योगलाई तत्काल २० हजार रुपैयाँ जरिवाना गरिएको छ। साथै सम्पूर्ण आवश्यक कागजातसहित १० दिनभित्र उपस्थित हुन निर्देशन दिइएको प्रशासनले जनाएको छ।अनुगमन गरिएका अन्य फर्महरूमा पनि विभिन्न कैफियत फेला परेको थियो।

मञ्जु श्री कोल्ड स्टोर्सलाई सरसफाइ कायम राख्न सुझाव दिइएको छ भने हाम्रो भान्सा स्वीट्सलाई किचेन सरसफाइ तथा व्यवस्थापन सुधार गर्न निर्देशन दिइएको छ। हिमालयन कफी एण्ड बर्गर हाउसमा म्याद गुज्रिएको ६ प्याकेट कस्तुरी मेथी फेला परेपछि उक्त सामग्री जफत गरी नष्ट गरिएको छ भने भान्सा कोठाको सरसफाइ गर्न निर्देशन दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगञ्जका प्रमुख सुरेश सिँहले जानकारी दिए ।त्यसैगरी, हाम्रो भान्छा घरलाई सरसफाइमा विशेष ध्यान दिन आदेश दिइएको छ। घर आँगन स्वीट्सलाई किचेन सरसफाइ तथा व्यवस्थापन सुधार गर्न सुझाव दिइएको छ। अपेक्षा जनरल स्टोर्सबाट म्याद गुज्रिएका पाइपकोला ९ पिस, चिजबल २६ प्याकेट तथा लेबल नभएको एक प्याकेट सामग्री नष्ट गरिएको छ।प्रियांका किराना एण्ड कोल्ड स्टोर्सबाट दुई प्याकेट पास्ता र १२ प्याकेट फुरनदाना म्याद गुज्रिएको तथा लेबल नभएको अवस्थामा फेला परेपछि ती सामग्रीसमेत नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ। भान्जा स्वीट्स एण्ड फास्ट फुडलाई पनि सरसफाइमा ध्यान दिन सुझाव दिइएको छ।

जिल्ला प्रशासन कार्यालय बाराका प्रशासन शाखाका रत्न स्याङतानका अनुसार अनुगमन गरिएका अधिकांश पसलहरूलाई उपभोक्ता संरक्षण ऐन, २०७५ का प्रावधान पूर्ण रूपमा पालना गर्न तथा व्यवसायिक पारदर्शिता कायम राख्न निर्देशन दिइएको छ।
अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय बाराका अधिकृत दिपेन्द्र प्रसाद यादब नायब सुब्बा रत्न स्याङ्गतान , वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका आशुतोष कुश्वाहा , घरेलु तथा साना उद्योग कार्यालय बाराका अलिसरन अंसारी , गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका जोखन प्रसाद चौहान, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगञ्जका जगत चौधरी , जिल्ला प्रहरी कार्यालय बारा तथा उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

अनुगमन हुन थालेपछि अनुगमनको डरले पसलेहरु धमाधम सटर खसाली आ आफनो पसल बन्द गर्न थालेका थिए ।यसअघि सोमबार गरिएको बजार अनुगमनका क्रममा पनि दुई वटा पसललाई गरी कुल ७० हजार रुपैयाँ जरिवाना गरिएको थियो। बजारमा अखाद्य वस्तुको बिक्री वितरण रोक्न, उपभोक्ताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्न यस्ता अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रशासनले जनाएको छ।