स्वास्थ्यमा असर पुग्ने खालका खाद्य सामग्री बिक्री गर्ने पसलमाथि प्रशासनको कडा कारबाही

बाराको कलैयामा आज गरिएको संयुक्त बजार अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्यमा असर पुग्ने खालका खाद्य सामग्री बिक्री गर्ने पसलमाथि प्रशासनले कडा कारबाही गरेको छ।

संयुक्त बजार अनुगमन समितिका अध्यक्ष तथा जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरकण भट्टराई को नेतृत्वमा खटिएको टोलीले विभिन्न पसलमा छड्के अनुगमन गरेको हो।

अनुगमनका क्रममा कलैया–६ बरियारपुर रोडस्थित माँ अन्नपूर्ण स्विट्स एन्ड बेकरी मा गुणस्तरहीन मो:मो, बिरयानी तथा अन्य खाद्य सामग्री भेटिएको थियो। पसलमा मूल्य सूचीसमेत नराखिएको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।

त्यसैगरी कलैया–५ स्थित केसर स्विट्स मा म्याद गुज्रिएको आइसक्रिम र मो:मो फेला परेपछि २० हजार रुपैयाँ जरिवाना गरिएको अनुगमन टोलीले जनाएको छ।

यस्तै कलैया–४ स्थित रोशन बाबु जेनेरल स्टोर मा म्याद गुज्रिएको खाने तेल फेला परेपछि उक्त सामग्री तत्काल नष्ट गरिएको थियो।

अनुगमनका क्रममा नेपाल डेरी उद्योग, एक मासु पसल र सत्या होटल लाई आवश्यक कागजातसहित तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।

त्यस्तै दुर्गा खाजा घर मा नापतौलसम्बन्धी अनुमति पत्र नभेटिएपछि नापतौल कार्यालय वीरगञ्जमा उपस्थित हुन भनिएको छ भने नवल सेकुवा लाई मूल्य सूची नराखेको भन्दै चेतावनी दिइएको छ।