रञ्जन यादब /बारा
बाराको सिमरा रंगशाला आगामी भदौ २१ गतेदेखि महिला फुटबलको उत्सवले गुञ्जिने भएको छ। सिमरा भेट्रान क्लबले आयोजना गर्ने नेपोभिट जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता का लागि सम्पूर्ण तयारी पूरा भएको क्लबले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
उपमहानगरपालिका मुख्य सहयोगी संस्थाका रूपमा रहनेछ ।प्रतियोगितामा ८ टोली सहभागी हुनेछन्। नेपाल पुलिस क्लब, एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, मोरङ जिल्ला फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ, धरान सिटी फुटबल क्लब, भारतको दार्जिलिङस्थित कुरुसङ गल्स फुटबल एकेडेमी र आयोजक सिमरा भेट्रान क्लबले मैदानमा प्रतिस्पर्धा गर्नेछन्। खेलहरू रात्री समयमा सिमरा रंगशालामा हुनेछन्।पुरस्कार राशी आकर्षक राखिएको छ। विजेता टोलीलाई ५ लाख रुपैयाँ, उपविजेतालाई २ लाख ५० हजार रुपैयाँ, उत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँ तथा उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, फरवार्ड र प्रशिक्षकलाई जनही १०–१० हजार रुपैयाँ पुरस्कार दिइनेछ।
सचिव हरि चौधरीका अनुसार उद्घाटन दिन प्रवेश निःशुल्क हुनेछ भने अन्य खेलहरूमा सामान्य टिकट दर १०० रुपैयाँ तोकिएको छ। सेमिफाइनल र फाइनल खेलका लागि टिकट दर २०० रुपैयाँ रहनेछ। टिकट बिक्रीबाट प्राप्त रकम वृद्धाश्रमलगायत सामाजिक क्षेत्रमा खर्च गरिने जानकारी क्लबले दिएको छ।क्लब अध्यक्ष राजकपुर राउतका अनुसार चार वर्षदेखि भेट्रान फुटबल आयोजना गर्दै आएको क्लबले यसपटक महिला फुटबलको विकासलाई लक्षित गर्दै पहिलोपटक महिला प्रतियोगिता सुरु गरेको हो। उनले प्रतियोगितालाई नियमित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाउँदै यस वर्षको अनुमानित खर्च करिब ५२ लाख रुपैयाँ हुने अनुमान गरेको बताए।