रञ्जन यादब /बारा
बाराको सिमरामा आयोजित पत्रकार सम्मेलनमा सिनेमा ‘अभिमन्यु ः च्याप्टर–१’ का मुख्य नायक कामेश्वर चौरसियाले फिल्मको सफलता पात्रभन्दा पनि यसको कथा र बिषयवस्तुमा निर्भर हुने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार, दर्शकले यसपटक नायक–नायिकाको बाहिरी रौनकभन्दा पनि फिल्मले बोकेको कथा–वस्तु र यसको प्रस्तुति हेरेर हलमा आउनेछन्। उनले भने, “यो फिल्म नायकलाई हेर्ने हैन, फि
ल्मले उठाएको कथा र सन्देश बुझ्न हेर्ने हो।”पत्रकार र दर्शकहरु नायक चौरसिया लगायत अन्य कलाकारसँगै हलमा बसेर फिल्मको ट्रेलर देखेका थिए । नायक चौरसियाको अभिनयलाई दर्शकले प्रशंसा गरेका छन् । सुशान्त गौतम निर्देशित र मुकेश खनाल लिखित यस फिल्मको ट्रेलर केही दिनअघि सार्वजनिक गरिएको थियो। ट्रेलरले प्रेम, अपहरण र फिरौतीको कथा मार्फत एक घरबारबिहीन युवक कसरी पैसाको प्रलोभनमा अपराधको चक्रव्यूहमा फस्छ भन्ने विषयवस्तु उजागर गरेको छ। फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी रहेका छन् भने सह–निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ हुन्। कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठको नाम छ ।
चौरसियासहित सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा र शिशिर वाङ्देललगायत कलाकारको अभिनय रहने फिल्म भदौ २७ गते नेपाली र असोज ६ गते (सेप्टेम्बर २२) मा हिन्दी भर्सन वल्र्डवाइड रिलिज हुने तय भएको छ।