रञ्जन यादब /बारा
बारा जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा लगाइएको करिब नौ बिगाहा क्षेत्रफलको गाँजा खेती प्रहरीले नष्ट गरेको छ । प्रहरीले विशेष अपरेशन सञ्चालन गर्दै गाँजा फडानी गरेको थियो ।
उक्त अपरेशन अन्तर्गत प्रहरीले झण्डै एक लाख असी हजार गाँजाका बोट नष्ट गरेको छ ।जिल्ला प्रहरी कार्यालय बाराको समन्वयमा इलाका प्रहरी कार्यालय अमलेखगंज र इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको टोलीले जीतपुर सिमरा उपमहानगरपालिका र निजगढ नगरपालिकाका विभिन्न स्थानमा अवैध रूपमा लगाइएको गाँजा खेती फडानी गरेको हो ।
प्रहरीका अनुसार जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ अन्तर्गत चकरी गाउँ र नयाँ बस्ती क्षेत्रका करिब पाँच बिगाहा जमिनमा लगाइएको करिब एक लाख गाँजा बोट नष्ट गरिएको छ। त्यस्तै, निजगढ नगरपालिका वडा नम्बर १२ र १३ मा रहेको करिब चार बिगाहा क्षेत्रमा खेती गरिएको असी हजार गाँजा बोट फडानी गरिएको हो ।
प्रहरीले अवैध लागू औषध नियन्त्रण अभियानलाई निरन्तरता दिँदै आएको जनाएको छ। यस अभियान अन्तर्गत अवैध गाँजा खेतीमा संलग्न व्यक्तिहरूको खोजी कार्य समेत भइरहेको प्रहरीले जानकारी दिएको छ ।