ब्राईटर एकेड्मीको २३ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

रञ्जन यादब /बारा

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ०२ स्थित ब्राईटर एकेड्मी ,सिमराले आफनो २३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।कार्यक्रमको उदघाटन गर्दै नगर प्रमुख राजन पौडेलले बदलिँदो समाजमा योगदान गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता भएकोमा जोड दिँदै कक्षामा सिकेका विषयवस्तु व्यवहारमा उतार्न विद्यार्थीहरुलाई सुझाव दिए ।

उनले अवको युग भनेको सूचना र प्रविधिको युग भएकाले विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने खालको शिक्षा आवश्यक रहेको विचार राखेका थिए । ब्राईटर एकेडेमीका छात्रछात्राले आफ्नै हातले लेखेका पुस्तकहरु प्रदर्शन गरेका थिए । जसमा विद्यार्थीले आफ्ना रचना, सिर्जना र कलालाई प्रस्तुत गरेका थिए ।विद्यालयका कार्यकारी निर्देशक उमेश चौहानको सभाध्यक्षतामा सम्पन्न वार्षिकोत्सव कार्यक्रममा छात्रछात्राहरुले गीत, नृत्य, नाटकलगायतका विभिन्न प्रस्तुति प्रदर्शन गरेका थिए ।

कार्यक्रममा विभिन्न विधाका व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।कार्यक्रममा वडा नं १६ का वडाध्यक्ष हरिदेव खरेल, वडा नं २ का कार्यवाहक अध्यक्ष उद्धव गौतम, एन प्याब्सनका केन्द्रीय सदस्य रामप्रसाद अधिकारी, सिमरा कलेजका प्रमुख शालिकराम अधिकारी, बकुलिया माध्यमिक बिद्यालयका प्रधानध्यापक धनञ्जय गौतम ,शुभतारा बोर्डिंग स्कुलका नेत्रप्रसाद दाहाल लगायतले मन्तव्य राख्नुभएको थियो । विद्यालयका प्रिन्सिपल राजुकुमार कार्कीले सञ्चालन गर्नु भएको कार्यक्रममा सहायक प्रिन्सिपल चन्दनकुमार चौधरीले स्वागत मन्तव्य राख्नुभएको थियो ।