रञ्जन यादब /बारा
बारामा वनको जग्गा अतिक्रमण गरेको अभियोगमा पक्राउ परेका सामुदायिक बनका अध्यक्ष सहित ३५ जना बिरुद्ध मुद्धा दर्ता भएको छ ।निजगढस्थित वनदेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सिद्धबहादुर थापा सहित ३५ जना विरुद्ध जिल्ला अदालत बारामा मुद्दा दर्ता भएको हो ।निजगढ नगरपालिका वडा नम्बर–२ सिगौलस्थित वनदेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सिद्धबहादुर थापा समेतको संलग्नतामा वनको २० हेक्टर जग्गा अतिक्रमण भएको आरोपमा २०७३ साल असार २० गते अख्तियारमा उजुरी परेको थियो ।
त्यसको ४ वर्षपछि २०७७ साल असार ११ गते अख्तियारले र २०७९ साल पुस २१ गते राष्ट्रिय सतर्कता केन्द्रले डिभिजन वन कार्यालय बारालाई आवश्यक कारबाहीका लागि पत्राचार गरेको थियो । अतिक्रमति वनको जग्गामा व्यक्ति तथा संघ–संस्थाले भौतिक पूर्वाधार निर्माण गर्नुका साथै केराखेती गर्दै आएका थिए । धेरै जग्गा त्यसै वडामा रहेको लोकप्रिय आधारभूत विद्यालयको नाममा राखेर अध्यक्ष थापाले किनबेच समेत गरेको देखिएको छ ।जग्गा अतिक्रमणमा सलग्न ५२ जनाविरुद्ध बुधबार डिभिजन वन कार्यालयले जिल्ला अदालत बारामा मुद्दा पेश गरेकोमा २ जनाको मृत्यु भइसकेको र केहीको हकमा अभियोग पुष्टि हुने प्रमाण नदेखिएपछि अध्यक्ष थापा समेत ३५ जना विरुद्ध अदालतले मुद्दा दर्ता गरेको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।
सोही क्रममा गत पुस २८ गते डिभिजन वन कार्यालयले अध्यक्ष थापालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको हो । अनुसन्धानका क्रममा अध्यक्ष थापाले झण्डै २० हेक्टर राष्ट्रिय र सामुदायिक वनको जग्गा अतिक्रमण गरी गुम्बा, मन्दिर, विद्यालयजस्ता संघ–संस्थालाई वितरण गरेको, एक बिगाह एक कट्ठा जग्गा विभिन्न व्यक्तिलाई बेचबिखन समेत गरेको खुलेको हो ।