रञ्जन यादब /बारा
२६औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल बाराले सिमरास्थित नेपाल अपांग सेवा संघ र पत्रकारलाई सहयोग गरेको छ । सेवा संघमा सञ्चालित सुस्त श्रवण र बौद्धिक अपांगता भएका विद्यार्थी अध्ययनरत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री , खाद्यान्न र ४० हजारको चेक हस्तान्तरण गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीको अध्ययन र हेरचाह गर्ने शिक्षकको सेवासुविधाका लागि उक्त रकम हस्तान्तरण गरिएको हो । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् बारा इन्चार्ज अच्युत पौडेलले उक्त रकम बराबरको चेक उपलब्ध गराएका हुन् ।
केन्द्रीय सदस्य पौडेल र मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले नेपाल अपांग सेवा संघ बाराका अध्यक्ष गंगाप्रसाद वाग्लेलाई चेक हस्तान्तरण गरेका थिए । यसैगरी स्थापना दिवसकै अवसरमा प्रेस चौतारी नेपाल बाराले संगठनमा आवद्ध दुई संचारकर्मीलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । सिमरास्थित संचार हब प्रालिको सभाहलमा आयोजित कार्यक्रममा चौतारी बाराले आफ्नो अक्षयकोषबाट संचारकर्मी रञ्जना खतिवडालाई १५ हजार र जिउतप्रसाद यादवलाई १० हजार आर्थिक सहयोग उपलब्ध गराएको हो । खतिवडाको केही समयअघि मेरुदण्डमा पलाएको ट्युमर र यादवको टाउकोको शल्यक्रिया गरिएको थियो ।