रञ्जन यादब /बारा
बारा प्रहरीले जीतपुर र अम्लेखगंजबाट भन्सार छलिको ३४ लाख मुल्य बराबरकोे सामान नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय जीतपुरले नियमित चेकजाँचको क्रममा बिरगंजबाट पथलैयातर्फ जाँदै गरेको साँतवटा पिकअपमा लोड रहेको २३ हजार १ सय ५० किलो प्याज नियन्त्रणमा लिएको हो । बरामद प्याजको मुल्य करिब ११ लाख ८७ हजार ७ सय ५० रुपैया रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो । त्यस्तै जीतपुर प्रहरीले ना २ ख ९४२८ नम्बरको ट्रकबाट ११ लाख ९२ हजार ९ सय ७४ रुपैया मुल्य बराबरको किराना सामग्री समेत बरामद गरेको छ । यता ईलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरीले बिरगंजबाट हेटौडातर्फ जाँदै गरेको ना ६ ख ७९७२ नम्बरको ट्रकबाट ११ लाख ६ हजार ४ सय ९४ रुपैया मुल्य बराबरको किराना सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।