रामनारायण मिश्र फूटबल प्रतियोगितामा बारा फाइनलमा प्रवेश

बारा, असार १३ गते ।

सिरहालाई स्तब्ध पार्दै बारा मधेस प्रदेश स्तरीय दोस्रो रामनारायण मिश्र फूटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधवार राती भएको खेलमा सिरहालाई ६–३ ले पराजित गर्दै बाराले अन्तिम दुईको यात्रा तय गरेको हो ।

बाराको जितमा सागर चौधरी र निरज थापा मगरले दुई/दुई गोल गरे भने सुशान्त चौधरी र उदित चौधरीले एक÷एक गोल गरे । सिरहाका लागि बिनु मगर, अमन हमाल र सुजन मगरले गोल गरेका थिए ।

खेलको पहिलो हाफमा २–० ले अग्रता लिएको बाराले चार गोल दोस्रो हाफमा गरेको थियो । सिरहाले दोस्रो हाफमा गोलअन्तर घटाएपनि हार टार्न भने सकेन । खेलको म्यान अफ दि म्याच बाराका सागर चौधरी घोषित भए ।

यसैगरी विहिबार भएको पहिलो खेलमा महोत्तरीलाई ५–२ ले पराजित गर्दै सर्लाही सेमिफाइनलमा प्रवेश गरेको छ । सर्लाहीको जितमा अनिल मगरले व्यक्तिगत तीन गोल गर्दै ह्याट्रीक गरे । सर्लाहीका लागि दुई गोल भने सागर स्याङ्तान र सविन स्याङ्तानले गरेका थिए ।

यता महोत्तरीका लागि निशान्त आले र कृष्ण राणाले एक/एक गोल गरे । खेलको ७औं मिनेटमा लिएको अग्रता जोगाउन नसक्दा महोत्तरी प्रतियोगिताबाट बाहिरिन पुग्यो ।

प्रतियोगिता अन्तर्गत विहिवार रौतहट र सर्लाहीबीच दोस्रो सेमिफाइनल खेल हुँदैछ । रौतहट र सर्लाहीबीचको विजेताले बारासंग उपाधीका लागि भिडन्त गर्नेछ ।

शिक्षा तथा समाजकल्याण मन्त्रालयको सहयोगमा मधेस प्रदेश फूटबल संघ र बारा जिल्ला फूटबल संघले आयोजना गरेको प्रतियोगितामा आठ जिल्लाको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुने टिमले २० हजार नगद प्राप्त गर्नेछन् ।