पर्साबाट २४ लाख बराबरको पशुचौपाया सशस्त्र प्रहरीको नियन्त्रणमा

पर्सा, वैशाख २६ गते ।

पर्साबाट ठूलो मात्रामा पशुचौपायालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट अवैध तरिकाले नेपाल भित्रिएका ६५ वटा पशु चौपायालाई सशस्त्र प्रहरीले पर्साले पर्साको विभिन्न ग्रामिण क्षेत्रहरुबाट नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको चौपायाको मूल्य २४ लाख १० हजार रुपैयाँ रहेको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रहरी उपरिक्षक सुमन थपलियाले जानकारी दिनुभयो । प्रहरी उपरीक्षक थपलियाकै कमाण्डमा खटिएको अनुगमन टोलीले पर्साको विन्दवासिनी गाउँपालिका र बहुदरमाई नगरपालिकाबाट पशुचौपायाहरु नियन्त्रणमा लिएको थियो ।

आइतबार साँझ पाँच बजे पर्साको बिन्दवासिनी गाउँपालिका – १ स्थित गदौलाबाट र सोही दिन साँझ पौने ७ बजे बहुदरमाई नगरपालिका – २ स्थित तिलाबे खोलामा जनिकबाट २४ लाख १० हजार बराबरको पशुचौपाया नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल अलौँका प्रहरी नायब उपरिक्षक योगेश बरालले जानकारी दिए ।

भारतबाट ल्याइरहेको साना ठूला भैंसी ५६ वटा, पाडी ३ वटा र पाडा ६ वटा गरी ६५ वटा पशुचौपाया नियन्त्रणमा लिई आवश्यक कारबाही प्रकृयामा रहेको बरालले बताए ।