बारा, चैत्र १४ गते ।
सशस्त्र प्रहरीको विभागीय टिम नेपाल एपिएफ क्लबलाई एकका बिरुद्ध दुई गोल गर्दै चर्च ब्वाईज यूनाईटेड काठमाण्डौ १३ औं जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।
सिमरा रङ्गशालामा एपिएफले बनाएको शुरुवाती अग्रता उल्टाउँदै चर्च ब्वाईजले प्रतियोगिताको पहिलो सहभागितामै सेमीफाइनल यात्रा तय गरेको हो । जितसंगै उसले न्युरोड टिम एनआरटीसंग विहिबार सेमिफाइनल खेल्ने भएको छ ।
श्याम नेपालीले डिबक्स भित्र उपलब्ध गराएको बल नियन्त्रणमा लिंदै एपिएफका मिडफिल्डर सन्तोष श्रेष्ठले खेलको २३ औं मिनटमा उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएपनि एपिएफ सम्हालिन नसक्दा प्रतियोगिताबाट बाहिरिएको हो । चर्च ब्वाईजको जितमा मिडफिल्डरद्वय सन्तोष न्यौपाने र रञ्जित पाण्डेले एक–एक गोल गरे । खेलको ३१ औं मिनटमा चर्चब्वाईजका सन्तोष न्यौपानेले टिमलाई खेलमा फर्काएर बराबरी बनाएका थिए । रञ्जित पाण्डेको क्रसबलमा हेडर एटेम्प गरेका सन्तोषको प्रहार एपिएफका डिफेण्डरको खुट्टामा डिफ्लेक्ट हुँदै गोलमा परिणत भयो ।
सुवास गुरुङको क्रसबलमा खेलको ४३ औं मिनटमा रञ्जित पाण्डेको उत्कृष्ट डाइविङ हेडर मार्फत चर्च ब्वाईजले अग्रता लिएको थियो । दोश्रो हाफ गोल रहित बनेपनि दुबै टिमले आकर्षक अवसरहरु सिर्जना गर्दा सिमरा रङ्गशालामा उपस्थित करिब सात हजार दर्शक आ–आफ्नो टिमको समर्थनमा हुटिङ गर्दै अन्तिम सम्म प्यारापिटमै बसे ।
खेलको एभरेष्ट बैंक म्यान अफ दि म्याच चर्च ब्वाईजका अफ्रिकी मिडफिल्डर ओउसो वेम्पा घोषित भए । एभरेष्ट बैंकका रिजनल हेड विभूति न्यौपाने र जीतपुरसिमराका वडाध्यक्ष इश्वर खत्रीले म्यान अफ दि म्याचको ट्रफी र दशहजार नगद प्रदान गरे । प्रतियोगिता अन्तर्गत बुधबार हुने पहिलो सेमिफाइनल खेलमा हेटौंडाको मकवानपुर ११ ले ‘ए’ डिभीजन क्लब हिमालयन शेर्पाको सामना गर्नेछ ।
प्रतियोगितामा प्रथम हुने टिमले रू दस लाख र दोस्रो हुने टिमले पाँच लाख प्राप्त गर्नेछन् ।