बाघको आक्रमणबाट एक महिला घाइते

बर्दिया,माघ १०–

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । खरखडाइका लागि निकुञ्ज गएकी ठाकुरबाबा नगरपालिका ३, नेउलापुर गाउँकी ३२ वर्षिया जानकी बिष्ट (कार्की) बाघको आक्रमणबाट घाइते भएकी हुन् ।

घाइतेको कुममा बाघले आक्रमण गर्दा गम्भीर चोट लागेको र भुरिगाउँको स्थानीय अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि नेपालगञ्ज लगिएको बर्दिया निकुञ्जका सुचना अधिकारी मुकुन्द संजेलले जानकारी दिए ।

बर्दिया राष्ट्रिय निकुञ्जले हरेक वर्ष पुस वा माघ महिनामा मध्यवर्ती क्षेत्रका बासिन्दाका लागि घर छाउने खर र गाइबस्तु बाँध्ने डोरीका लागि बाबियो काट्न खरखडाइका लागि निकुञ्ज प्रवेश खुला गर्ने गर्छ । यस वर्ष हिजो सोमवार र आज दुई दिनका लागि निकुञ्ज प्रवेश खुला थियो ।