बाराको कलैया उपमहानगरपालिका-२३ स्थित कलैया–वीरगञ्ज सडकखण्डमा सुमोको ठक्करबाट एक अज्ञात युवक पैदलयात्रीको मृत्यु भएको छ।
बिहिवार राति करिब ९ः१० बजे गार्डेन भ्यु रिसोर्ट नजिकै वीरगञ्जबाट कलैयातर्फ आउँदै गरेको ना.१ ज ६४०३ नम्बरको सुमोले पैदल हिँडिरहेका करिब २२/२३ वर्षीय युवकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका उनलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल कलैया लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल पठाइएकोमा राति १०ः३५ बजे उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मीन बहादुर घलेले जानकारी दिए । उनका अनुसार मृतकको शव हाल एलएस न्युरो अस्पतालमै रहेको छ। साथै दुर्घटनामा संलग्न सुमो र चालक प्रहरीको नियन्त्रणमा छन्।
प्रवक्ता घलेका अनुसार मृतकको हालसम्म पहिचान खुल्न सकेको छैन। मृतकको हुलिया उचाइ करिब ५ फिट ६ इन्च, पातलो शरीर, दायाँ हातमा बाला लगाएको, कालो भेस्ट र निलो पाइन्ट लगाएको, उमेर करिब २२/२३ वर्ष रहेको छ।
मृतकलाई चिन्नुहुने वा उनका आफन्तजनलाई जिल्ला प्रहरी कार्यालय बाराको ९८५५०४८१०१, ९८५५०४५१०१ र ९८५५०४५७६६ नम्बरमा वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।




