रञ्जन यादब /बारा ०१ भाद्र
जीतपुरसिमरा उपमहानगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई विद्यार्थीको व्यक्तिगत विवरण अद्यावधिक गर्दा जन्मदर्ता प्रमाणपत्रमा उल्लेखित विवरणलाई आधार मान्न निर्देशन दिएको छ ।उपमहानगरपालिकाको पञ्जीकरण शाखाकी अधिकृत दुर्गा न्यौपानेले पत्राचार गर्दै विद्यालयमा अध्ययनरत आधारभूत तहका विद्यार्थीहरूको व्यक्तिगत विवरण उनीहरूको जन्मदर्ता प्रमाणपत्रमा उल्लेख भएअनुसार कायम गर्न आग्रह गरेकी हुन्।
जन्मदर्ता प्रमाणपत्र बाहेक अन्य झुटा विवरण वा कागजात पेस गरी व्यक्तिगत घटना दर्ता प्रमाणपत्र प्राप्त गर्ने प्रयोजनका लागि सिफारिस गर्ने वा गराउने कार्य कानुनबमोजिम दण्डनीय हुने स्पष्ट पारेको छ।पत्रमा झुटा विवरण वा कागजात पेस गरी सिफारिस गरेको पाइएमा सम्बन्धित व्यक्तिलाई दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा २० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको जानकारी गराइएको छ। त्यसैले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको व्यक्तिगत विवरण अद्यावधिक गर्दा तथा कुनै पनि प्रयोजनका लागि सिफारिस गर्दा जन्मदर्ता प्रमाणपत्रमा कायम रहेको विवरणलाई नै आधार बनाउन उपमहानगरपालिकाले सबै विद्यालयलाई आग्रह गरेको छ।




