पर्सा राष्ट्रिय निकुञ्जको पर्यटन विकासमा नीतिगत सुधार गर्ने मन्त्री पौडेलको प्रतिबद्धता

रञ्जन यादब /बारा २९ साउन

पर्सा राष्ट्रिय निकुञ्जलाई मधेश प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न संघीय सरकारले नीतिगत सुधार गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले प्रतिबद्धता जनाउनुभएको छ।
मधेश प्रदेशमा पर्यटन क्षेत्रको सम्भावना, पूर्वाधारको अवस्था तथा विद्यमान समस्या र चुनौतीबारे स्थलगत अध्ययन गर्ने क्रममा पर्सा राष्ट्रिय निकुञ्ज पुग्नुभएका मन्त्री पौडेलले निकुञ्जका अधिकारी, स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी तथा सरोकारवालासँग छलफल गर्नुभएको हो।

छलफलमा निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र पौडेलले पर्सा राष्ट्रिय निकुञ्जमा पर्याप्त पर्यटकीय सम्भावना भए पनि आवश्यक पूर्वाधार, प्रचारप्रसार र लगानीको अभावका कारण अपेक्षाअनुसार पर्यटक भित्र्याउन नसकिएको बताउनुभयो। उहाँले सरकारी लगानी न्यून हुनुका साथै केही नीतिगत जटिलताका कारण निजी क्षेत्रलाई समेत लगानीका लागि आकर्षित गर्न कठिनाइ भइरहेको जानकारी गराउनुभयो।

मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सीताराम अर्यालले पर्सा र चितवन राष्ट्रिय निकुञ्जको प्राकृतिक तथा पर्यटकीय सम्भावनामा ठूलो भिन्नता नरहे पनि चितवनको सौराहाले पाएको जस्तो पूर्वाधार र प्रचारको अवसर पर्साले नपाएको बताउनुभयो। मनहरीबाट पर्सा राष्ट्रिय निकुञ्ज जोड्ने सडकको अभाव र निकुञ्जभित्र पानीको समस्या पर्यटन विकासका प्रमुख अवरोध रहेको उहाँको भनाइ थियो।

त्यसैगरी, होटल तथा पर्यटन व्यवसायीसमेत रहनुभएका पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले वीरगन्जसँगै जोडिएको पर्सा राष्ट्रिय निकुञ्जलाई पर्यापर्यटनको महत्वपूर्ण गन्तव्य बनाउन सकिने बताउनुभयो। तर पर्यटकलाई निकुञ्ज भ्रमण गराउने पर्याप्त सफारी गाडी, पर्यटकीय पूर्वाधार र पर्यटकमैत्री वातावरणको अभावले सम्भावनाअनुसार पर्यटक आकर्षित हुन नसकेको उहाँले उल्लेख गर्नुभयो।
जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले निकुञ्जमा सफारीका लागि आवश्यक सवारी साधन खरिदमा भन्सार छुटको व्यवस्था गर्नुपर्ने माग राख्नुभयो। उहाँले लोथरसम्म विस्तार हुन लागेको पेट्रोलियम पाइपलाइनसँगै निकुञ्ज क्षेत्रमा पानी पु¥याउने पाइपलाइन विस्तार गर्न सकिने सम्भावनातर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभयो।

सरोकारवालाबाट प्राप्त सुझावपछि मन्त्री खड्गराज पौडेलले पर्सा राष्ट्रिय निकुञ्जलाई पर्यटनको दृष्टिले अपेक्षाअनुसार उपयोग गर्न नसकिएको स्वीकार गर्नुभयो। बारा, पर्सा, रौतहट र मकवानपुर गरी चार जिल्लामा फैलिएको मधेश प्रदेशको एकमात्र राष्ट्रिय निकुञ्ज सरकारी नीतिको प्राथमिकतामा पर्न नसक्दा पर्यटन विकासमा पछि परेको उहाँको भनाइ थियो।

निकुञ्जको पर्यटन विकासका लागि आवश्यक नीतिगत सुधार गर्न आफू प्रतिबद्ध रहेको बताउँदै मन्त्री पौडेलले संघीय सरकारसँगै स्थानीय तथा प्रदेश सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो। उहाँले पूर्वाधार विकास, लगानीको वातावरण निर्माण र प्रचारप्रसारलाई प्राथमिकतामा राखेर पर्सा राष्ट्रिय निकुञ्जलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न पहल गरिने बताउनुभयो।

दुर्लभ वन्यजन्तुको महत्वपूर्ण बासस्थानका रूपमा रहेको पर्सा राष्ट्रिय निकुञ्ज भारतसँगको सीमाक्षेत्र नजिकै रहे पनि पर्यटकीय पूर्वाधार र प्रभावकारी प्रचारप्रसारको अभावमा अपेक्षित रूपमा विदेशी तथा भारतीय पर्यटक आकर्षित गर्न सकेको छैन। पर्सा हुँदै भारतीय पर्यटक चितवनको सौराहा पुग्ने गरे पनि बीचमै रहेको पर्सा राष्ट्रिय निकुञ्जमा भ्रमण नगर्ने अवस्था अन्त्य गर्न पूर्वाधार र पर्यटन प्रवद्र्धनमा विशेष पहल आवश्यक देखिएको छ।