रञ्जन यादब /बारा
नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियन, सूर्य नेपाल प्रा.लि. सिमराको ११औं अधिवेशन उत्साहजनक वातावरणमा सुरु भएको छ। उद्योग क्षेत्रका श्रमिकहरूको हक–अधिकार, सुरक्षा र संगठनात्मक सुदृढीकरणका विषयमा केन्द्रित यस अधिवेशनमा श्रमिकहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले वर्तमान परिस्थितिमा ट्रेड युनियनहरूको भूमिका झन् महत्वपूर्ण बनेको उल्लेख गर्नुभयो। उहाँले हालै गठन भएको सरकारले ट्रेड युनियनहरूलाई कमजोर पार्ने वा हटाउने खालका गतिविधि अघि बढाएको प्रति चिन्ता व्यक्त गर्दै त्यसको प्रतिवाद गर्न श्रमिकहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो। साथै, आफ्ना अधिकारका लागि संघर्ष गर्दा आफू कार्यरत उद्योग वा संस्थालाई नोक्सान नपुग्ने गरी संयमित र जिम्मेवार ढंगले अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।

कार्यक्रममा युनियनका अध्यक्ष रामपुकार पासवानले राजनीतिक तथा संस्थागत प्रतिवेदन प्रस्तुत गर्दै विगतका गतिविधि, उपलब्धि तथा चुनौतीहरूबारे जानकारी गराउनुभयो। उहाँले युनियनलाई थप सशक्त, पारदर्शी र श्रमिकमैत्री बनाउन आवश्यक सुधारका योजनाहरू समेत प्रस्तुत गर्नुभयो।अधिवेशनमा सहभागी मजदुरहरूले वर्तमान सरकारले यदि श्रमिक युनियनहरू खारेज गर्ने निर्णय गरे त्यसले गम्भीर परिणाम निम्त्याउने चेतावनी दिएका छन्। उनीहरूले युनियनभित्र रहेका कमी–कमजोरीलाई सुधार गर्न सकिने भए पनि युनियन नै खारेज गर्ने प्रयास श्रमिक हितविपरीत हुने बताएका थिए।कार्यक्रममा विभिन्न श्रमिक नेताहरू, उद्योग प्रतिनिधिहरू तथा सरोकारवाला निकायका व्यक्तिहरूको उपस्थिति रहेको थियो।
वक्ताहरूले श्रमिक अधिकारको संरक्षण, सामाजिक सुरक्षा, न्यूनतम पारिश्रमिक, सुरक्षित कार्य वातावरण तथा श्रमिक–नियोक्ता सम्बन्ध सुदृढीकरणका विषयमा धारणा राखेका थिए।अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।कार्यक्रममा अखिल नेपाल औधोगिक मजदुर महासंघका महासचिव कृष्ण रेग्मी , अखिल नेपाल ट्रेड युनियन महासंघका सह सचिव अर्जुन चिमरिया ,प्रदेश अध्यक्ष केदार देव ,अखिल नेपाल औधोगिक मजदुर संघका केन्द्रिय अध्यक्ष बेनि प्रसाद तिमल्सिना लगायतको सहभागिता रहेको थियो ।

