रञ्जन यादब /बारा
सिमरा कलेजले आफ्नो सातौँ कलेज सभा भव्य रूपमा सम्पन्न गरेको छ। कलेज व्यवस्थापन समितिका अध्यक्ष अच्युतदेव सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा. महानन्द अचार्य प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अचार्यले आफ्नो कार्यकालमा परीक्षा प्रणालीलाई व्यवस्थित बनाउँदै समयमै नतिजा प्रकाशन गर्ने कार्यमा जोड दिएको दाबी गर्नुभयो। उहाँले ‘कमाउँदै पढ्ने’ अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने दिशामा आफू केन्द्रित रहेको उल्लेख गर्नुभयो। साथै, विश्वविद्यालयको शैक्षिक, अनुसन्धानात्मक तथा प्रशासनिक कार्यभन्दा धेरै समय राजनीतिक हस्तक्षेप र समस्या समाधानमै खर्चिनु परेको गुनासो पनि व्यक्त गर्नुभयो। उनले जीतपुरसिमरा उपमहानगरपालिकाको तीनै वटा कलेज मर्ज भएर चलेको खण्डमा त्रिभुवन बिश्वबिद्यालयको आङ्गिक कलेजको मान्यता दिन सक्ने बताएका थिए ।

कलेजका प्रमुख शम्भु खरेलले कलेजको हालको शैक्षिक अवस्था, भविष्यका रणनीति, आम्दानीको स्रोत, भौतिक पूर्वाधार विकास तथा सञ्चालन भइरहेका विविध कार्यक्रमहरूको बारेमा विस्तृत जानकारी दिनुभयो। उहाँले कलेजलाई गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित गर्न दीर्घकालीन योजना अघि सारिएको पनि बताउनुभयो। बिद्यार्थीहरुको बिदेशप्रतीको मोह ,बाध्यता तथा अन्य बिबिध कारणले प्रथम बर्षमा भर्ना भएका बिद्यार्थीहरुमध्ये लगभग ५० प्रतिशत बिद्यार्थी अन्तिम बर्ष सम्म निरन्तर रहन नसकेको जानकारी दिएका थिए ।

कार्यक्रमका अवसरमा ‘एकेडेमिक जर्नल अफ सिमरा’को लोकार्पण समेत गरिएको थियो, जसले कलेजमा अनुसन्धानमुखी शिक्षालाई थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरिएको छ।यसैबीच, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले सिमरा कलेजलाई त्रिभुवन विश्वविद्यालयबाट आङ्गिक कलेजको मान्यता दिलाउन पहल गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले औद्योगिक क्षेत्रमा अवस्थित कलेजले विद्यार्थीहरूलाई उद्योगसँग प्रत्यक्ष जोडेर प्रयोगात्मक तथा सीपमूलक शिक्षा दिनुपर्ने आवश्यकता औँल्याउनुभयो। कार्यक्रमकाबिच २०७६ साल देखि २०८० सालको ब्याचमा स्नातक तहमा ५८.०५ प्रतिशत ल्याएर ब्यवस्थापन संकायमा उत्कृष्ट गर्ने सुनिल श्रेष्ठ र ४७.६३ प्रतिशत ल्याउर शिक्षा संकायमा उत्कृष्ट गर्ने सुनिता मण्डललाई सम्मान गरिएको छ ।त्यस्तै २०७७ साल देखि २०८१ सालको ब्याचमा उत्कृष्ट गर्नेलाई सम्मान गरिएको छ ।


सम्मानित हुनेमा ब्यवस्थापन संकायमा ६२.९५ ल्याएर उत्कृष्ट गर्ने शिवकुमार थपलिया र शिक्षा संकायमा ५३.७७ प्रतिशत ल्याएर उत्कृष्ट गर्ने मिन्तुल्लाह साह रहेका छन् ।उत्कृष्ट गर्नेहरुलाई सम्मान स्वरुप कलेजले प्रशंसा पत्र ,५ हजार ५ सय रुपैया र जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२ को कार्यालयले ५ हजार ५ सय रुपैया प्रदान गरेको थियो ।सभामा विभिन्न क्षेत्रका बुद्धिजीवी, शिक्षक, विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले कलेजको शैक्षिक गुणस्तर अभिवृद्धि, प्रविधिमैत्री शिक्षा, अनुसन्धान विस्तार तथा रोजगारमुखी कार्यक्रम सञ्चालनमा जोड दिएका थिए।हाल सिमरा कलेजमा व्यवस्थापन संकायतर्फ स्नातकोत्तर तहको पढाइ सञ्चालन भइरहेको छ भने शिक्षा संकायतर्फ स्नातक तहको कक्षा सञ्चालनमा रहेको छ।

